वीरगन्ज,१३ माघः२०७४ को प्रतिनिधि सभा निर्वाचनमा मधेस केन्द्रित दलहरुले चार वटै निर्वाचन क्षेत्रमा (प्रत्यक्ष तर्फ ) जित हात पारेर पर्सा जिल्ला नै कब्जा गरे । समानुपातिक तर्फपनि सबैभन्दा बढी मत प्राप्त गर्दै तत्कालिन संघीय समाजवादी फोरम नेपाल पहिलो दल बन्यो ।
त्यसपछिको २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भने मधेस केन्द्रित दलहरुको साखख नराम्ररी खस्कियो । प्रत्यक्षतर्फका चार वटा मध्ये एउटामात्र मधेसी दल (जनता समाजवादी पार्टी नेपाल) ले जित हात पार्यो । बाँकी तीन क्षेत्रमध्ये दुई वटामा काँग्रेस र एउटामा एमालेका उम्मेदवार विजयी भए । सामानुपातिकतर्फपनि मधेस केन्द्रित दल जसपा नेपाल पहिलो स्थानबाट तल झर्दै तेश्रो स्थानमा पुग्या्े । पहिलोमा कांग्रेस र दोस्रोमा एमाले उक्लियो ।
अब फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पनि पर्सा जिल्लामा मधेस केन्द्रित दलहरुको अवस्था सुखद नहुने आकलन गर्न थालिएको छ । कारण हो – दल विभाजन र नेताहरुको पार्टी परिवर्तन ।
मधेस आन्दोलनदेखि नै जिल्लामा मधेसी दलको नेतृत्व गर्दै आएका पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादव मनोनयनको एक दिन अगाडिमात्रै जसपा छाडेर पर्सा क्षेत्र नम्बर १ मा एमालेको उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । पर्सा –१ मा उपेन्द्र यादव नेतृत्वको दलबाट लगातार दुई पटक जितको बाजी मारेका प्रदीपलाई उपेन्द्रले टिकट नदिने अवस्था आएपछि प्रदीप माघ ५ गते एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेलगत्तै उनले पर्सा –१ बाट केपी ओलीले उनलाई टिकट पनि दिए । उनिसंगै उपेन्द्र यादवको दलबाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित राजेशमान सिंहसहित ७ जना वडाध्यक्षहरुपनि एमालेमा प्रवेश गरे ।
पर्सा – १ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री यादवले उपेन्द्र यादवले आँफुसंग धोखा गर्दै राजनीति नै समाप्त पार्ने षडयन्त्र गर्न लागेको संकेत पाएपछि आँफुले आफ्नो राजनीति जोगाउन जसपा नेपाल छाडेको बताए । यसका साथै संविधान र लोकतन्त्र जोगाउने दल एमाले मात्रै भएको तथा राष्टप्रेमको चट्टानी अडान केपी ओलीमा देखेकाले आँफु एमालेमा प्रवेश गरेको उनले बताए।
प्रदीप एमालेमा प्रवेश गरेपछि उपेन्द्रको दल जसपा नेपालले उक्त क्षेत्रमा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवलाई उम्मेदवारका रुपमा चुनावी मैदनमा उतारेको छ ।
यस्तै जसपा नेपालले पर्सा –२ मा भने नयाँ अनुहारका रुपमा उद्योगपति अशोक टेमानीलाई उम्मेदवार बनाएको छ । तर पर्सा– २ मै यसअघि उपेन्द्रकै दलबाट वडाध्यक्षमा निर्वाचित तथा प्रदीपको दाहिना हात मानिने सुशीलकुमार कानुपनि जसपा छाडेर रास्वपाको उम्मेदवार बनेका छन् । जसका कारण पर्सा –२ मा पनि मधेस केन्द्रित दलको मत बाँडिने सम्भावना देखिएको छ ।
पर्सा –३ मा जसपा नेपालले पार्टीका पूर्व जिल्ला उपाध्यक्ष नागेन्द्र यादवलाई चुनावी मैदानमा उतारेको छ । नयाँ अनुहार भएपनि यादव त्यस क्षेत्रमा खासै प्रभाव भने यसअघि देखिएको छैन ।
पर्सा –४ मा जसपा नेपालले नवप्रवेशी डा. कृपासिन्धु चौधरीलाई चुनावी मैदानमा उतारेको छ ।यसअघि कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका चौधरी केहि हप्ताअघि मात्रै कांग्रेस छाडेर जसपा नेपालमा प्रवेश गरेका थिए । उक्त क्षेत्रबाट केहि हप्तापहिलेमात्रै जसपा नेपालसंग पार्टी एकता गरेको लोसपाका बरिष्ठ नेता तथा २०७४ मा त्यसै क्षेत्रबाट सांसदमा निर्वाचित लक्ष्मणलाल कर्णपनि यसपालि आकांक्षी थिए । तर जसपा नेपालले कर्णलाई नभई नवप्रवेशी चौधरीलाई उम्मेदवार बनाएको हो।
यता उपेन्द्र नेतृत्वको जसपा नेपाल विभाजित भएर गठन भएको अशोक राईको नेतृत्व जसपासहितको गठबन्धनले भने पर्साका चार मध्ये दुई निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उतारेको छ । अशोक राई नेतृत्वको जसपा , राजेन्द्र महत्तो नेतृत्वको राष्टिय मुक्ति पार्टी नेपाल र रेशम चौधरी नेतृत्वको राष्टिय उन्मुक्ती पार्टी गरी ३ दलको गठबन्धनले पर्सा –२ मा फिरोज मियाँ र पर्सा –३ मा मनोज पडित कुम्हाललाई उम्मेदवार बनाएको छ । बाँकी दुई निर्वाचन क्षेत्रमा आँफुहरुको गठबन्धनको उम्मेदवार नरहेको राष्टिय मुक्ति पार्टी नेपालका नेता निजामुदिन समानीले बताए ।

