काठमाडौं,२माघ: नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले संविधान कानुन, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने धम्की दिएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन गरी संविधान र कानुनविपरीत निर्णय भएमा आफूहरूले देशभर आन्दोलन गर्ने धम्की दिएका हुन् ।
‘निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा कांग्रेसले देशभर आन्दोलन गर्छ,’ खडकाले भने ।
उनले निर्वाचन आयोगले त्यो गर्दैन भन्ने विश्वास आफूलाई रहेको बताए । तर बाहिर आएका चर्चा बहसले त्यस्तो काम भयो भने कांग्रेसले देशभर आन्दोलनमा जाने उनको भनाइ थियो ।
उनले विधि र विधानविपरीत आयोगले निर्णय गरेमा देशभर आन्दोलन गर्न तयार भएर बस्न कार्यकर्तालाई आग्रह गरे । ‘हामीमाथि हुने गलत निर्णयविरुद्ध पार्टीले आवश्यक परेको बेला बोलाउँछ । त्यो बेला उपस्थित हुन तम्तयार रहन पार्टी नेता तथा कार्यकर्ता र शुभचिन्तक सबैलाई आग्रह गर्दछु,’ खड्काले भने ।

