काठमाडौं,२३पुसःक्रिकेटर पूजा महतो एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०८१ मा युवा वर्ष खेलाडी घोषित भएकी छन् । महोत्तरी घर भएकी महत्तो नेपाली यू–१९ क्रिकेट टिमलाई इतिहासमै पहिलो पटक महिला विश्वकप क्रिकेटमा छनोट गराउने टिमकी कप्तान थिइन् ।
उनले त्यस छनोट खेलमा सर्वाधिक २ सय ७२ रन बनाएकी थिइन् भने १० विकेट पनि हात पारेकी थिइन् । कुवेतविरुद्ध उनले नटआउट रहेर १ सय ३० रन बनाएकी थिइन् ।नेपालले एसीसी महिला यू–१९ एसियाकप छनोटमा पाकिस्तानलाई पराजित गर्दा पनि उनले उत्कृष्ट कप्तानी गरेकी थिइन् ।
अवार्ड थाप्दै पूजाले भनिन्, ‘यो अवार्ड मुमा बुबालाई समर्पित गर्न चाहन्छु ।’ यस विधामा मनोनयमा पर्ने अन्य खेलमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङ रहेका थिए ।

