वीरगन्ज,१२पुस: इरानको उरमिया सहरमा सम्पन्न ७ औँ एसियाली कुस्ती च्याम्पियनसिप २०२५ मा सहभागी भई वीरगन्ज फर्किएका कुस्ती खेलाडीहरूलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ।
महानगरका मेयर राजेशमान सिंहले शनिबार आफ्नै कार्यकक्षमा एक कार्यक्रम आयोजना गरी प्रतियोगितामा सहभागी भई फर्किएका ४ जना कुस्ती खेलाडीलाई गम्छा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका हुन्। सम्मानित हुने खेलाडीहरूमा कुन्दन साह, सुजित यादव, निखिल पटेल र राम किशोर यादव रहेका छन्।
त्यसैगरी, उक्त प्रतियाेगितामा सहभागी अन्य ११ जना कुस्ती खेलाडीहरूलाई पनि मेयर सिंहले ट्र्याक सुट प्रदान गरी सम्मान गरेका छन्।
कार्यक्रममा मेयर सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर देश र वीरगनजको नाम चिनाउन सफल खेलाडीहरूको प्रशंसा गर्दै आगामी दिनमा खेलकुद विकासका लागि महानगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।उनले खेलाडीहरूलाई अझ राम्रो प्रदर्शनका लागि निरन्तर अभ्यास र अनुशासनमा ध्यान दिन आग्रह गरे।

