वीरगन्ज,२४असाेज: ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानको शतकमा पाकिस्तानले आइसिसी विश्वकप क्रिकेटमा श्रीलंकामाथि ६ विकेटको कीर्तिमानी जित हात पारेकोछ ।
विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य सफलता पूर्वक पूरा गर्दै पाकिस्तानले विश्वकपमा सुरुवाती दुबै खेलमा जित हात पारेको हो ।
जितको लागि ३ सय ४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवानले १ सय २१ बलमा ८ चौका र ३ छक्कासहित १ सय ३१ रनमा नट आउट रहे ।
रिजवानको यो ओडिआई करिअरको उच्च प्रदर्शन समेत हो । यसअघि ओडिआईमा रिजवानको उच्च प्रदर्शन २०१९ मा अष्ट्रेलियाविरुद्ध १ सय १५ रन थियो ।
यसअघि विश्वकपमा सबैभन्दा ठूलो योगफल २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको लक्ष्य पूरा गरेको थियो । २०११ को विश्वकपमा ३ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले खेल टाई गरेको थियो ।
ओपनर अब्दूल्लाह शफिकले १ सय ३ बलमा १० चौका र ३ छक्कासहित १ सय १३ रनको यादगार शतक हाने ।
रिजवानको यो ओडिआई करिअरको तेस्रो र शफिकको पहिलो हो । विश्वकपमा दुबैले पहिलो शतक हानेका हुन् ।
मंगलबारकाे याे खृलमा विश्वकप इतिहासमा पहिलो पटक चार शतक बनेका हुन् । श्रीलंकाले पहिलो इनिङमा दुई शतक हानेको थियो ।
बलिङतर्फ श्रीलंकाका दिलशान मदुशानकाले दुई, महेश थिक्सना र मथिसा पाथिरानाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो । श्रीलंकाका कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्कासहित १ सय २२ रनको विष्फोटक शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।उनले ६५ बलमा शतक हानेका थिए । उनी श्रीलंकाबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी हुन् । करिअरको उनको यो तेस्रो ओडिआई शतक हो ।
सदिरा समराविक्रमाले ७९ बलमा ११ चौका र २ छक्कासहित १ सय ८ रन शतकीय इनिङ खेले । ओडिआई करिअरको पहिलो शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् ।
श्रीलंकाका ओपनर कुशल परेरा डक आउट हुँदा अर्का ओपनर पाथुम निसान्काले ७ चौका र १ छक्का सहित ६१ बलमा ५१ रन प्रहार गरे । दोस्रो विकेटका लागि कुशल र पाथुमले ९५ बलमा १ सय २ रनको शतकीय साझेदारी गरेका थिए । धनञ्जय डी सिल्भाले ३४ बलमा ४ चौका सहित २५ रन बनाए ।
कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन जोडे । चरिथ असलंकाले एक रन मात्र जोडदा महिश थिकसना शुन्यमा आउट भएका थिए । महिश पाथिराना एक रनमा नटआउट गरे ।
पाकिस्तानका हसन अलीले १० ओभरमा ७१ रन खर्चिदै ४ विकेट लिए । हरिस रौफले १० ओभरमा ६४ रन खर्चिएर २ विकेट लिए । शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले समान एक विकट हात पारे ।
जारी विश्वकपमा पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । पाकिस्तानले अव शनिबार अहमदाबादमा भारतसँग खेल्नेछ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ रनले पराजित भएको थियो । उक्त खेलमा दक्षिण अफ्रिकाले ४ सय २८ रन बनाएको थियो । श्रीलंकाले सोमबार अष्ट्रेलियासँग खेल्नेछ । बुधबार भारत र अफगानिस्तानबीच दिल्लीमा खेल हुनेछ ।

