वीरगन्ज,२४चैतः गण्डक नहरस्थित तिलाबे खोलामा निर्माणाधीन बेलिब्रिज (फलामे पुल) जडानको काम सुस्त गतिमा भइरहेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुल जडान गर्ने काम सुुस्त भइरहेको हो । हालसम्म कामको भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै पुगेको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्ज अन्तर्गत निर्माण भइरहेको उक्त बेलीब्रिजको ठेक्का ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालि लोकन्थली भक्तपुरले लिएको हो । कार्यालयका अनुसार परियोजनाको कुल लागत करिब २ करोड ४६ लाख ६० हजार ८ सय १२ रुपैयाँ रहेको छ । सम्झौता अनुसार निर्माण कार्य २०२५ डिसेम्बर १५ देखि सुरु भई २०२६ मे १५ भित्र सम्पन्न गरिसक्नुपर्ने छ । तर कामको गति अत्यन्त सुस्त रहेकाले तोकिएको मितिमा सम्पन्न हुनेमा अन्योल देखिएको हो ।
तीन वर्षअघि असारमा आएको बाढीले सोही स्थानमा रहेको आरसीसी पुलमा क्षति गरेपछि आवागमनमा समस्या उत्पन्न भएको थियो । पुलको पिलरमा क्षति पुगेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी साधन आवागमनमा रोक लगाइएको छ । यद्यपि पैदलयात्री, साइकल तथा मोटरसाइकल प्रयोगकर्ता अझै पनि जोखिम मोलेर पुल प्रयोग गर्दै आएका छन् ।
जिल्ला सदरमुकाम वीरगन्जलाई उत्तरी–पश्चिमी भेगसँग जोड्ने गण्डक नहरको एप्रोच सडकमा पर्ने यो पुलबाट जिल्लाका करिब ४० प्रतिशत बासिन्दा आवागमन गर्छन् । पुल पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । स्थानीयका अनुसार पुलमा थप क्षति पुगेमा गण्डक नहरको साइफनमा असर पर्न सक्ने र नहर प्रणाली नै अवरुद्ध हुने जोखिम समेत बढेको छ ।शंकर आचार्य /कान्तिपुर

