वीरगन्ज,०७मंसिर:जनता समाजवादी पार्टी(जसपा) का उपमहासचिव प्रदीप यादवले नेपाली कम्युनिस्ट पार्टीसंगकाे एकता गर्ने च्याप्टर क्लाेज(बहश बन्द) भएको बताएका छन्।
जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरुले पार्टी छाडेर प्रचण्ड संयाेजक रहेकाे नेपाली कम्युनिस्ट पार्टीमा जाने निर्णय गरेपछि उपमहासचिव यादवले उक्त पार्टीसंग अब एकताकाे च्याप्टर क्लाेज भएको बताए ।
आइतबार साँझ मधेस खबरसंग कुरा गर्दै यादवले पार्टीका राष्ट्रिय अध्यक्ष अशाेक राई, महासचिव इस्तियाक राइन् ,आफू उपमहासचिव सहित बहुसंख्यक पदाधिकारी र सदस्य तथा सबै ७ जना निवर्तमान प्रतिनिधि सभा सदस्यहरु एकमत भएर नेपाली कम्युनिस्ट पार्टीसंग एकता नगर्ने अडानमा रहेपनि अध्यक्ष श्रेष्ठसहित ६ जना मात्रैले एकता गर्ने अड्डी कसेर उता जाने निर्णय गरेको बताए ।
१५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितमा ९ जना एकताकाे विपक्षमा भएपछि बहुमत नपुगेर श्रेष्ठसहितका ६ जनामात्रै नेपाली कम्युनिस्ट पार्टीमा जान लागेकाे उनले बताए।
उपमहासचिव यादवले भने,`बहुसंख्यक नेता नेपाल कम्युनिस्ट पार्टीसंग पार्टी एकताकाे विपक्षमा थियाैं। तत्कालका लागि माेर्चा मात्रै बनाएर वा कार्यगत एकता मात्रै गरेर वा चुनावी तालमेल गरेर अगाडि जाउँ भन्ने मत हाम्राे थियाे ।तर श्रेष्ठले पार्टी एकता नै गर्नुपर्छ भन्ने अडानमा रहनुभयाे।तर उहाँहरुकाे पक्षमा बहुत नपुगेपछि पार्टी छाडेर जान लाग्नु भएको छ।यसमा हामीले राेक्ने कुरापनि आएन।´
पूर्वमन्त्री एंव पूर्व प्रतिनिधि सभा सदस्यसमेत रहेका यादवले श्रेष्ठले पार्टी छाडेर गएपछि अब पार्टीको आगामी रणनीतिका बारेमा आँफुहरु छलफलमा रहेकाे जानकारी दिए।उनले भने,`यसबारे भाेलिसम्ममा केहि नयाँ खबर आउँछ हाेला ।´
नेपाल कम्युनिस्ट पार्टीमा जाने निर्णय गर्नेहरुमा जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत, केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन्।

