काठमाडौं,२९फागुनःनेपाल आयल निगमले भारतबाट नेपालमा एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नभएको स्पष्ट पारेको छ। निगमले हालसम्म मागअनुसार ग्यास आइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा देखिएको ग्यास अभाव वास्तविक नभई हल्लाका कारण सिर्जित भएको बताए। उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्न थालेपछि बजारमा कृत्रिम अभावजस्तो अवस्था देखिएको उनको भनाइ छ।
निगमका अनुसार अहिले देखिएको समस्यालाई समाधान गर्न ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ। यसै क्रममा बजारको चाप घटाउन आधा सिलिन्डर ग्यास बिक्री–वितरणको व्यवस्था पनि सुरु गरिएको जानकारी दिइएको छ।
प्रवक्ता ठाकुरले नेपालमा पर्याप्त मात्रामा ग्यास आयात भइरहेकाले उपभोक्ताले हल्लाको पछि लागेर अनावश्यक रूपमा ग्यास थुपार्न नहुने बताए। उनले हालसम्म मागअनुसार ग्यास आपूर्ति भइरहेको भए पनि भविष्यको अवस्थाबारे भने निश्चित रूपमा भन्न सकिने अवस्था नरहेको उल्लेख गरे।
त्यस्तै, पेट्रोल र डिजेलको मूल्य प्रत्येक १५ दिनमा नयाँ सूचीअनुसार समायोजन हुने भए पनि हवाई इन्धन र एलपी ग्यासको मूल्य भने एक महिनापछि मात्रै नयाँ सूचीअनुसार निर्धारण हुने निगमले जनाएको छ। नयाँ मूल्यसूची प्राप्त भएपछि मात्रै ग्यासको मूल्य बढ्ने वा नबढ्नेबारे निर्णय हुने बताइएको छ।

