Madhes Khabar
खेलकुद

कुस्ती खेलाडीहरूलाई प्रोत्साहित गर्नु पर्छ : पूर्वमन्त्री यादव

वीरगन्ज, ११ कात्तिक : जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

वीरगन्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले भने, “कुस्ती हाम्रो इतिहास, संस्कार र शारीरिक क्षमताको प्रतीक हो । यसले युवामा अनुशासन, साहस, आत्मविश्वास र खेलभावनाको विकास गराउँछ । यस्ता खेललाई संरक्षण गर्नु भनेको हाम्रो मौलिक संस्कृति र पहिचानलाई जोगाउनु हो ।”

पूर्वमन्त्री यादवले स्थानीय तह, जनप्रतिनिधि, खेलकुद संघसंस्था र समुदायबीच सहकार्यको आवश्यकता औंल्याउँदै भने, “यदि हामीले स्थानीय खेलाडीहरूलाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन प्रदान गर्न सक्यौँ भने नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि कुस्तीमा उल्लेखनीय सफलता हासिल गर्न सक्छ ।”

पूर्वमन्त्री यादवले आगामी दिनमा वीरगन्जलाई प्रदेश तथा राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा विभिन्न स्थानबाट आएका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । दर्शकहरूको ठूलो भीडले खेलाडीहरूलाई उत्साहपूर्वक हौस्याएको थियो । इनर्वा महाबीर मन्दिर संरक्षण समाज, पर्सा द्वारा आयोजित यो विराट कुस्ती प्रतियोगिताको उद्देश्य स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै समाजमा एकता र उत्सवमय वातावरण सृजना गर्नु रहेको जनाइएको छ ।

कार्यक्रममा वीरगन्ज महानरका मेयर राजेशमान सिंह,स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, खेलकुदप्रेमी तथा विभिन्न तहका समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Related posts

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अफगानिस्तानकाे सानदार जीत

MadhesKhabar

सिमरामा १ लाख राशि पुरस्कारको भेट्रान कप फुटबल प्रतियोगिता हुने

MadhesKhabar

नेपाललाई जिताउन भूमिका खेलेका आरिफ र गुल्सनलाई मधेस सरकारले २/२ लाख रुपैयाँ दिने

MadhesKhabar

Leave a Comment