Madhes Khabar
खेलकुद हेडलाइन

नेपाल लगातार दाेस्राे पटक टी-२० विश्वकप क्रिकेटमा छनाैट

काठमाडौं,२९असाेज: नेपाल लगातार दाेस्रो पटक टी-२० विश्वकप क्रिकेट खेल्ने पक्का भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाएको हो।यसअघि सन् २०२४ काे विश्वकप खेलकाे नेपालले सन् २०१४ मा पहिलाे पटक विश्वकप खेल्ने अवसर पाएकाे थियाे।

 

सुपर सिक्सको खेलअन्तर्गत बुधबार युएईले सामाओलाई पराजित गरेपछि नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो। नेपालले आज (बुधबार ) ओमानसँग र अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ।

 

ओमानको भूमिमा पुरानो इतिहास मेटाउँदै नेपालले अल अमेरतमा नेपाली क्रिकेटको एक नयाँ इतिहास लेखेको छ। सन् २०२४ मा १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको नेपालले लगातार दोस्रो पटक टी२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।

 

सन् २०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो। उनै पारस नेतृत्वको क्यानले लगातार दोस्रो पटक आफ्नो पछिल्लो पुस्ताले विश्वकप खेलेको हेर्नेछ।

विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीले पछिल्लो केही महिनायता राम्रो तयारी गरिरहेको छ। नेपाली टिमले भारत प्रशिक्षण, अष्ट्रेलियाको टप एण्ड टी-२० सिरिज हुँदै ऐतिहासिक वेष्ट इन्डिजसँगको सिरिज खेल्यो। वेष्ट इन्डिज सिरिजमा २-१ ले सिरिज जित्दै युएईबाट सिधै ओमान पुगेको नेपाली टोलीले राम्रो लय समातेको छ।

पछिल्लो समयमा नेपाली क्रिकेटले स्वर्णिम समय बिताइरहेको छ भन्दा फरक पर्दैन। प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा दोस्रो पटक टी-२० विश्वकप खेलेको नेपाली क्रिकेट टोलीले हालः अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षणमा तेस्रोपटक विश्वकप खेल्ने भएको छ।

प्रशिक्षक ल नेपालको प्रशिक्षक नियुक्त भएपछि उनको एउटा टिप्पणी निकै भाइरल भयो, ‘मलाई हारेको मन पर्दैन।’ सायद उनले अष्ट्रेलियन क्रिकेटबाट ल्याएको क्रिकेटिङ कल्चरको छबि उनको बोलीमा थियो। कम बोल्ने तर प्रशिक्षणमा खेलाडी छनोटदेखि मैदानमा उनको रणनीतिले नेपाली टोलीले हालः राम्रो इतिहास बनाइरहेको छ।

नेपाली टोलीले उनको नेतृत्वमा पहिलो पटक टेस्ट मान्यता पाएको राष्ट्रसँग सिरिज खेलेको थियो। त्यो सिरिजमा पनि नेपालले २-१ को जित उनको रणनीतिको गतिलो परीक्षा र परीक्षाको राम्रो नतिजा पनि थियो।

सर्वाधिक सफल कप्तान रोहित
सन् २०२३ मा १९औं एसियन गेम्समा नेपालका लागि २१ वर्षीय रोहितकुमार पौडेलले पहिलो पटक नेपाली राष्ट्रिय टिमको टी-२० अन्तर्राष्ट्रियको कप्तानी सम्हालेका थिए। कप्तानको रूपमा उनी हालसम्मकै सर्वाधिक सफल पनि भए। पछिल्लो ४ वटा कप्तानहरूसँग तुलना गर्ने हो भने उनको कप्तानीमा टिमले सर्वाधिक सफलता पाइरहेको छ। सन् २०२४ मा भएको टी-२० विश्वकपमा सबैभन्दा सानो कप्तानको रूपमा टिमको नेतृत्व गर्ने कप्तानको छबि बनाएका रोहितले नेपाललाई दोस्रो पटक विश्वकपमा नेतृत्व गर्नेछन्।

जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत उनले आफ्नो कप्तानीमा ५०औं खेल खेले। त्यो पनि जीतसहित नेपाललाई लिड गरे। नेपालले रोहितको कप्तानीमा हालसम्म ५३ वटा खेल खेल खेलेको छ। जसमा ३० जित दर्ता गरेको छ।

सन् २०२३ मा मूलपानी मैदानमा भएको आइसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले २०२४ को विश्वकपमा स्थान बनाएको थियो। रोहितले नेपालबाट बिदा हुँदै गर्दा भनेका थिए, ‘हाम्रो मुख्य लक्ष्य टी-२० विश्वकप छनोट हो।’

Related posts

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध भारतकाे सानदार जित

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्र शाह सिमरामा, समर्थकले गरे भव्य स्वागत

MadhesKhabar

ठाकुरराम क्याम्पसको पिजी कक्षमा पान गुट्खाको थुकले भित्ता रंगीन, दुर्गन्धले प्राध्यापकहरु पिडित

MadhesKhabar

Leave a Comment