बारा,१७ असोजःबाराको सुवर्ण गाउँपालिकामा विकास बजेटको व्यापक दुरुपयोग भएको आरोप लागेको छ। बडादसैँको अवसरमा बिहीबार राति पालिकाको विकास बजेट प्रयोग गरी अर्केस्ट्रामा नचाउन बोलाइएका युवतीहरूको विषयलाई लिएर तनाव सिर्जना भएको हो।
गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव नेतृत्वको टोलीले पालिकाको कार्यालयमै दसैं पार्टीका लागि डान्स गर्ने युवतीहरू राखेको भन्दै स्थानीयबासीले बिहीबार राति नै गाउँपालिका कार्यालयलाई घेराउ गरेका थिए। त्यसक्रममा घेराउमा परेका गाँउपालिका अध्यक्ष यादवलाई त्यहाँबाट निकाल्न सुरक्षाकर्मीले आश्रुग्यास प्रहार गर्नुपरेको थियो। बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाडले गाउँपालिका प्रमुखसहित पालिका कार्यालयलाई स्थानीयले घेराउ गर्दा स्थिति नियन्त्रणमा लिन चार राउन्ड आश्रुग्यास प्रहार गरिएको जानकारी दिए।
सुवर्ण गाउँपालिकाका अध्यक्ष यादवले भने कवहीगोठमा लागेको दसैँ मेलाको दशमीको रात भारतको बिहारबाट टिकटक स्टारहरूलाई बोलाइएको र उनीहरूलाई खाना खुवाउन पालिका कार्यालयमा व्यवस्था गरिएको स्पष्ट पारे। उनका अनुसार १५–१६ जनाको समूहमा आएका ती कलाकारलाई पालिका कार्यालय परिसरमा खाना खुवाइएपछि उनीहरू कार्यक्रम स्थलतर्फ गएका थिए। उनले आरोप लागेझैँ मदिरा पार्टी वा कार्यालयभित्र केटीहरू ननचाइएको दाबी गर्दै विरोधी समूहले अनावश्यक विवाद गरेको बताए।
तर, घेराउमा सहभागी स्थानीय अजय यादवले भने बिहीबार राति गाँउपालिका अध्यक्ष यादवले आफ्ना भाइ, छोरा र अन्य व्यक्तिहरूसँगै गाँउपालिका कार्यालयमै मदिरा पार्टी गरिरहेको देखेपछि स्थानीय युवाहरुले घेराउ गरेको बताए। उनका अनुसार मदिरा पार्टी भइरहेका बेलामा कार्यालयमै युवतीहरूलाई नचाइरहेको देखेर युवाहरू आक्रोशित बनेका थिए। घेराउ गर्ने क्रममा युवाहरू कार्यालयभित्र छिर्न खोज्दा सुरक्षाकर्मी र नगर प्रहरीले रोकेको मात्र नभई उल्टै हातपात र ज्यान मार्ने धम्कीसमेत दिएको उनले बताए।
यसैबिच, विकास बजेटको दुरुपयोग भएको आरोप पनि स्थानीयले लगाएका छन्। गाउँपालिकाको विकास बजेटबाट कवहीगोठमा मेलामा गरिने नाचगान र कुस्तीका लागि साढे १७ लाख रुपैयाँ पेस्की निकालिएको दाबी गरिएको छ।उपेन्द्र यादव /नागरिक

