Madhes Khabar
स्थानिय हेडलाइन

पानीको श्रोत खोज्दै चुरे–भावर क्षेत्रमा पुग्यो मेयरसहित वीरगन्ज महानगरको टोली

वीरगन्ज,१६साउनःखडेरीमा भूजल सतह घटेर वीरगन्जमा खानेपानीको संकट भएपछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विज्ञको टोलीसहित पानीको श्रोत खोज्दै चुरे र भावर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

बिहीबार दिउँसो राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका विज्ञ र महानगरका प्राविधिकसहितको टोली लिएर मेयर सिंहले चुरे र भावर क्षेत्रमा पर्ने बाराको अमलेखगन्ज क्षेत्र तथा भेडाहा खोला क्षेत्रको अवलोकन गरेका हुन् ।

अमलेखगन्जमा कर्मकुमारी खानेपानी आयोजना अन्तर्गत भावर क्षेत्रमा रहेको पानीको स्रोतको संरक्षण गरेर ८ सय बढी घुरधुरीमा अहिले दैनिक २४ लाख लिटर खानेपानी वितरण हुदैं आएको छ ।अमलेखगन्जमा पहिले वीरगन्जको जस्तै खानेपानीको चर्को समस्या भएपछि अमलेखगञ्ज कर्मकुमारी खानेपानी आयोजना अन्तर्गत भावर क्षेत्रको पानीको श्रोत संरक्षण गरेर खानेपानीको आपुर्ति हुदैं आएको छ ।

त्यसबारे राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका विज्ञले जानकारी गराएपछि बिहीबार वीरगन्ज महानगरका मेयर सिंहले उक्त खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्दै त्यहाँका स्थानीयसंग छलफलपनि गरे ।त्यसपछि मेयर सिंहसहितको टोलीले वीरगन्ज–३१ बेल्वास्थित भेडाहा खोलाकोपनि स्थलगत निरीक्षण गर्यो ।

अमलेखगन्जमा पानीको श्रोत संरक्षण गरेर वस्तीमा खानेपानीको आपुर्ति भइरहेको मोडलमै भेडाहा खोलाको पानीपनि संरक्षण गरेर वीरगन्जमा पानीको समस्या समाधान गर्न सकिने विज्ञहरुले सुझाव दिए ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाइ कार्यालय चितवनका इञ्जिनियर अनिल सिन्हाले चुरे र भावर क्षेत्रमा मुहान भएका खोला र नदिबाट बगेर खेर गइरहेको पानी ठाँउ ठाँउमा ‘होल्ड’ गर्न सकेमा वीरगन्जमा भूजलको सतह माथि आउन सक्ने बताए ।

उनले भने,‘ भेडाहा खोलामा अहिले पानी बगेर त्यसै खेर गइरहेको छ ।यदि त्यो खोलाको पानीलाई अमलेखगन्जको जस्तै ठाँउठाँउमा होल्ड गर्न सकियो भने जमिन मुनि पानीको रिचार्ज (पुर्नभरण) हुन्छ । त्यसले वीरगन्ज क्षेत्रमा भूजलको सतह माथि आउँछ । अनि अहिले देखिएको पानीको संकट स्वतः समाधान हुन्छ ।’

सिन्हाले भावर क्षेत्रबाट बगेर वीरगन्जसम्म पुगेको ८ किलोमिटर दुरीको भेडाहा खोलामा ठाँउ ठाँउमा पानी होल्ड गर्ने २०÷२५ वटा संरचना र खोला छेउमा पोखरी बनाउन आवश्यक रहेको बताए ।भावर क्षेत्रमा खोलाको पानी जति होल्ड गर्न सकियो त्यति नै धेरै जमिनमुनि पानीको रिचार्ज हुने उनले बताए ।

उनले भने,‘चुरे र भावर क्षेत्रमा खोलाको पानी जति होल्ड गर्न सकियो वीरगन्ज क्षेत्रका जमिनमुनि त्यति नै धेरै पानी रिचार्ज((पुर्नभरणाा) हुन्छ । अमलेखगन्जको जस्तो टेक्नोलोजी भेडाहा खोलमापनि अपनाउनु जरुरी छ ।’

त्यसका लागि भेडाहा खोलामा पानी होल्ड गर्ने अण्डर ग्रााउण्ड संचना बनाउनुपर्नेमा उनले जोड दिए उनले भने,‘ खोलामा बनाइएको संचनामा पानी होल्ड हुन्छ । अनि त्यहाँको पानी पाइप मार्फत खोला छेउको पोखरीमा लगेर भर्नुपर्छ । त्यसले जमिनमुनि भित्रभित्रै पानीको रिचार्ज हुन्छ ।अनि चापाकलहरु सुक्ने समस्या दीर्घकालका लागि नै समाधान हुन्छ ।

पानी होल्ड गर्ने संरचना बनाउनका लागि यसअघि नै आँफुहरुले भेडाहा खोलामा अनुमगन गरिसकेको भन्दै उनले भने,‘भेडाहा खोलामा यस्ता स्ट्रक्चर बनाउन मिल्ने ठाँउ छन् ।’

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डाक्टर किरण पौडेलले वीरगन्जमा अहिले भइरहेको खानेपानीको हाहाकार दीघालीन रुपमा समाधानका लागि वीरगन्ज क्षेत्रको जमिनमुनि पानीको पुर्नभरण आवश्यक रहेको बताए । त्यसका लागि चुरे र भावर क्षेत्रका खोलाको पानी होल्ड गरेर भूजलको सतह बढाउनुपर्ने उनले बताए । पौडेलले भने,‘ अमलेखन्जमा जुन टेक्नोलोजी प्रयोग गरिएको छ ,त्यस्तै गरेर भेडाहा खोलाको पानीपनि ठाँउ ठाँउमा होल्८ गर्न सकियो भने वीरगन्जमा पानीको समस्या समाधान गर्न सकिन्छ।’ त्यसैका लागि मेयरसिंहसहितको टोलीलाई ल्याएर अवलोकन गराइएको उनले बताए ।

वीरगन्ज महानगरका मेयर सिंहले वीरगन्जमा विगत तीन वर्ष यता गर्मीका बेला चापाकलहरु सुकेर खानेपानीको हाहाकार हुदैं आएको बताए ।यसपालि भने उक्त समस्याले झन् बिकराल रुप लिएपछि दीर्घकालीन समाधानको उपाय खोजीका लागि चुरे–भावर क्षेत्रमा पर्ने अमलेखगन्ज र भेडाहा खोलाको निरीक्षण गरिएको बताए ।

वीरगन्जमा महानगरले टोलटोलमा डीप बोरिङ गाडेर र तथा ट्यांकर र ट्यांकीमार्फत पानीको आपुर्ति गरिरहेपनि त्यो दीर्घकालीन समाधानको उपाय भने नभएको बताए। दीर्घकालिन समाधान भनेको जमिनमुनि पानीको पुर्नभरण(रिचार्ज) नै भएकाले त्यसैका लागि चुरे–भावर क्षेत्रको निरीक्षण गरिएको उनले बताए ।

निरीक्षणका क्रममा विज्ञ र प्राविधिकहरुले भेडाहा खोलामा पानी होल्ड गर्ने अण्डरग्राउण्ड संरचना र खोला छेउमा पोखरी बनाउनुपर्ने सुझाव दिएको उनले बताए । विज्ञ र प्राविधिकहरुले दिएको सुझाव अनुसार नै महानगर अब अगाडि बढ्ने उनले बताए ।

यसका लागि महानगरले आफ्नो श्रोत र साधनले भ्याएसम्म काम गर्ने प्रतिबद्धता जनाउँदै उनले भने,‘तर महानगरको एक्लो प्रयासले मात्रै यो सम्भव छैन । अपुग स्रोत र साधन जुटाउनका लागि प्रदेश र संघ सरकारलाई अनुरोध गर्छौ । यसमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिलेपनि साथ दिन्छ भनेको छ।सबैको सहयोग भयो भने हामी यो काम पुरा गरेरै छाड्छौं ।’

Related posts

पर्साका एसपी मिश्रले भने : इमान्दार प्रहरीलाई पुरस्कृत र बदमाश प्रहरीलाई दण्डीत गर्छु

MadhesKhabar

वीरगन्जको नारायणी स्पोट्स क्लब कब्जामुक्त, अब वडाबासीकै मातहतमा सञ्चालन हुने

MadhesKhabar

वीरगन्जमा बलिदानी दिवस :मधेसी शहिदका शालिकमा फुल चढाएर श्रद्धाञ्जली अर्पण

MadhesKhabar

Leave a Comment