वीरगन्ज,१५साउन:सडकबाट उद्धार गरि वीरगन्जकाे मानव सेवा आश्रममा राखिएकी गर्भवती महिलाले मंगलबार नारायणी अस्पतालमा छोरी जन्माएपछि बुधबार बिहान भावनात्मक पारिवारिक पुनर्मिलन भएको छ ।
मंगलबार साँझ बेथा लागेपछि नारायणी अस्पताल पुर्याइएकी ३० वर्षीया पुनिता देवी रामले छोरीलाई जन्म दिएकी थिइन् । बच्चा जन्मिएको खबर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएपछि ती महिलाको ससुरा शम्भु राम र सासु पाना देवी चमारले फेसबुकमार्फत जानकारी पाएर बुधबार बिहान ८ बजे बुहारी र नातिनी लिन अस्पताल पुगेका हुन् ।
उनीहरू पर्सागढी नगरपालिका–५, जिंगना निवासी हुन् । सासु र ससुराले दिएको जानकारी अनुसार,पुनिताका पति रामकारण राम भारतमा ट्र्याक्टर चालकका रूपमा कार्यरत छन् भने पुनिता मानसिक स्वास्थ्य समस्याका कारण घरबाट हराएकी थिइन् ।उनलाई वीरगन्जको बहुअरीबाट असाेज ११ गते मानव सेवा आश्रमकाे टाेलीले उद्धार गरेर आश्रममा लगेका थिए ।
बुधबार बिहान बुहारी र नातिनीलाई घरमा ल्याउने क्रममा अस्पताल परिसरमै पारिवारिक पुनर्मिलन कार्यक्रम गरिएको थियो।त्यस अवसरमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमीकी अध्यक्ष पिया सिंह,नर्स हेमा थापा, समाजसेवी सन्तोष पटेल ,पिन्टु रौनियारलगायत आश्रमका स्वयंसेवक र सुरक्षाकर्मीको पनि उपस्थिति थियो ।
मानवसेवा आश्रमले समाचार सेयर गरेर सहयोग पुर्याउने सम्पूर्ण सञ्चारकर्मी र शुभेच्छुकप्रति विशेष धन्यवाद व्यक्त गरेको छ ।
यसअघि, असोज ११ गते शनिबार राति ९ बजे वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरी र सामाजिक अभियन्ता प्रकाश थारुले पेट ठूलो भएकी गर्भवती महिलालाई मानवसेवा आश्रम वीरगंज शाखामा ल्याएका थिए ।

