वीरगन्ज,१असोज : प्रत्येक वर्ष कन्या अर्थात् आज आश्विन संक्रान्तिका दिन कालीगढहरूले भगवान् विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एंव विश्वकर्मा पूजा पर्व मनाउँदछन् ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पर्व मनाइन्छ ।
वीरगन्जकाे बसपार्क,बाइपास लगायत गाडीका ग्यारेज,वर्कसप,शाेरुम भएका क्षेत्रमा तथा पर्सा-बारा ओैधाेगिक करिडाेरमा आजका दिन विश्वकर्मा पूजाकाे विशेष राैनक देख्न पाइन्छ ।
बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति आजका दिन पूजा गरि भोलिपल्ट नदी,खाेला,तलाउ,पाेखरी वा अन्य शुद्ध जलाशयमा लगी सेलाउने गरिन्छ ।आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बिचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बिचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्राध्यापक तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बिचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ ।

