वीरगन्ज,२८भदाैं: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले जिल्लामा शिक्षण–सिकाइ क्रियाकलाप तत्काल पुनः सुचारु गर्न सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरेको छ ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र सचिव अशोक सङ्ग्रौलाले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जेन-जी आन्दोलनका कारण उत्पन्न विषम परिस्थिति सामान्य बन्दै गएकाले शिक्षण–सिकाइ तुरुन्त सुरु गर्न आह्वान गरेका हुन् ।
विज्ञप्तिमा शैक्षिक सत्रको सुरुदेखि नै चर्को गर्मी, पानीको अभाव, हैजाको महामारी र जेन-जी आन्दोलनका कारण शिक्षा क्षेत्र गम्भीर रूपमा प्रभावित भएको उल्लेख छ । यस्तो अवस्थालाई लम्ब्याउनु विद्यार्थीको भविष्यमाथिको अन्याय हुने भन्दै प्याब्सन पर्साले शैक्षिक संस्थाहरू खोल्न र शिक्षण–सिकाइ पुनः सुचारु गर्न जोड दिएको छ ।
प्याब्सन पर्साले बुद्धिजीवी, नागरिक समाज, अभिभावक, पत्रकार, शिक्षक र आम जनसमुदायलाई शिक्षण–सिकाइलाई तत्काल पुनः सुचारु गर्न ठोस पहल गर्न आग्रह गरेको हाे । साथै, उसले बालबालिकाको शिक्षाको मौलिक हकको संरक्षणमा सबै सरोकारवालालाई संवेदनशील हुन अनुरोधपनि गरेको छ ।
विज्ञप्तिमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
प्याब्सनले उक्त आन्दोलनले देशको राजनीतिक, सामाजिक र नैतिक चेतनामा ऐतिहासिक परिवर्तन ल्याएको उल्लेख गरेको छ । आन्दोलनको परिणामस्वरूप नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको र उनको नेतृत्वमा भ्रष्टाचारमुक्त शासन, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा सकारात्मक परिणाम प्राप्त हुने प्याब्सनको अपेक्षा छ ।
प्याब्सनले शिक्षा क्षेत्रलाई राष्ट्रिय पुनर्निर्माणको आधार स्तम्भ मान्दै शैक्षिक लगानी, पूर्वाधार सुधार र रोजगारीका अवसर सिर्जनामा सरकारको कार्यकाल कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरेको छ ।

