वीरगन्ज,११भदाैं:हाल वीरगन्जमा देखिएको हैजा, आउँ र झाडापखालाजस्ता संक्रामक रोगहरूको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियानलाई अझ व्यापक बनाएको छ। यही क्रममा स्वास्थ्यकर्मीको टोली बुधबार मेयर राजेशमान सिंहको निवासमै पुगेको छ। टोलीले मेयर सिंह र उनको परिवारलाई प्रत्यक्षरूपमा रोग नियन्त्रणका उपायबारे जानकारी दिँदै सुरक्षित खानेपानी, सरसफाइ र व्यक्तिगत स्वच्छतालाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दियाे।
स्वास्थ्यकर्मीहरूले विशेष रूपमा खानेपानी उमालेर वा पियुष (क्लोरिन) प्रयोग गरेर मात्र सेवन गर्नुपर्ने, खाना ढाकेर राख्ने, फोहर खुला स्थानमा फ्याँक्ने काम नगर्ने, दिसा–पिसाब खुला ठाउँमा नगर्ने, साबुनपानीले हात धुने बानी बसाल्ने जस्ता सन्देशहरू घरमै गएर बुझाइरहेका छन्। टोलीले “स्वच्छता नै रोग नियन्त्रणको पहिलो औषधि हो” भन्ने कुरामा जोड दिएको छ।
मेयर सिंहले स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिँदै यो अभियानलाई अझ प्रभावकारी बनाउन महानगर हर तरहले लागिरहेको बताए।उनले भने, “हामी सबैले मिलेर यो संकटलाई जित्नुपर्छ। महानगरले आवश्यक औषधि, पियुष, खानेपानी परीक्षण, सरसफाइ र जनचेतनाका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। तर नागरिकको सक्रियता बिना यो अभियान सफल हुन सक्दैन। प्रत्येक घरपरिवार सचेत भएर लाग्न जरुरी छ।”
महानगरले हाल प्रभावित क्षेत्रमा निःशुल्क पियुष वितरण, सार्वजनिक ट्यांकी र ट्यांकरमार्फत आपूर्ति हुने पानीमा क्लोरीन मिसाएर मात्र वितरण गर्ने व्यवस्था, विद्यालय, मन्दिर, मस्जिद र भीडभाड हुने स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, लामखुट्टे नियन्त्रणका लागि स्प्रे र फगिङ, नाला सफाइ, खुला ढल व्यवस्थापन र सरसफाइ अभियानलाई एकैपटक ३२ वटै वडामा सुरु गरिएको छ।
स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार हालसम्म धेरै परिवारमा टोली पुगिसकेको छ र अभियानलाई दैनिकरूपमा निरन्तरता दिइँदैछ।उनले भने, “हैजा र झाडापखालाको रोकथामका लागि औषधि मात्रै पर्याप्त हुँदैन, जनचेतना नै सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले हामी प्रत्येक घर पुगेर व्यवहारमै परिवर्तन ल्याउने प्रयास गर्दैछौं।”
यसैबीच, निजी अस्पतालहरूले पनि आवश्यकताअनुसार निःशुल्क बेड र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन् भने संघीय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र युनिसेफले समेत अभियानमा प्राविधिक र सामग्रीगत सहयोग गरिरहेका छन्।

