वीरगन्ज,७ भदौंःमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जमा देखिएको हैजाको महामारीको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारका तर्फबाट हरसम्भव उपाय अवलम्बन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
हाल मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सिंहले वीरगन्जमा हैजाको महामारी नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य निर्देशनालय तथा जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएका हुन् ।साथै वीरगन्जस्थित नारायणी अस्पतालसहित अन्य सबै अस्पताललाई संक्रमित बिरामीको उपचारमा सक्रिय रहनपनि उनले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउन र थप फैलिन नदिन स्वास्थ्य तथा प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई पनि परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ निर्देशन दिएका छन् ।
उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई विशेष जिम्मेवारीसहित वीरगन्ज पठाइएको उनको सचिवालयले जनाएको छ।

