वीरगन्ज,०६भदौंःवीरगन्ज–२ घुसुकपुरको इदगाह चोकबाट श्रोत नखुलेको नगद १४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२ घुसुकपुरकै ३९ वर्षीय सन्जय साह र बाराको महागढीमाइ नगरपालिका–.४ बगडमपुरकाा ४१ वर्षीय सनि कुमार ठाकुर रहेका छन् ।
बिहीबार अपरान्ह वीरगन्ज–२ इदगाह चोकमा प्रहरीले भारतबाट आएको बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो । त्त्यसक्रममा ती मोटरसाइकलमा सवार साह र ठाकुरको साथबाट नेपाली १४ लाख १३ हजार ५०० रुपैयाँ बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिए ।
मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइ राखेको अवस्थामा श्रोत नखुलेको नेपाली १ हजार दरका नोट १ हजार थान र ५ सय दरका नोट ८ सय २७ थान गरी कूल १४ लाख १३ हजार ५०० रुपैयाँ बरामद भएको भट्टले बताए ।बरामद रकमको श्रोत खुल्न नसकेकोले उक्त रकम हुण्डीको रहेको उनले बताए ।
नगद रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

