वीरगन्ज,५भदौंः पर्साको पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर २ का भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुले वडाध्यक्ष मुकुट प्रसद चौहानले सिफारिस नदिदाँ आँफुहरु जग्गा प्राप्तिको प्रकृयाबाट बञ्चित हुन पुगेको गुनासो गरेका छन् ।
बिहीबार वडा नम्बर २ का भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुले भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदलाई भेटेर वडाअध्यक्ष चौहानले वडा कार्यालयबाट सिफारिस पत्र नदिएको गुनासो गरेका हुन् ।पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरीको नेतृत्वमा वीरगन्ज आएका उनिहरुले अहमदलाई ध्यानाकर्षण पत्रपनि बुझाएका छन् ।
भूमिहिन दलित, भूमि सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि जग्गा उपलब्ध गराउनका लागि ३५ दिने सूचना प्रकाशन भइ देशभरी नै निवेदन संकलन भैइरहेको छ ।तर पकहाँमैनपुर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष चौहानले वडा कार्यालयबाट सिफारिस नदिएकोले त्यस वडाका सयौं भूमिहिन दलित र भूमिहिन सुकुम्बासीहरु जग्गा प्राप्तिको मौलिक हक अधिकारबाट बन्चित भएको अहमदलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
वडा कार्यालय पटक पटक पुगेर सिफारिस माग्दा वडाध्यक्ष चौहानले नदिएपछि बाध्य भएर भूमि समस्या समाधान आयोगमा पुगेर भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुले ध्यानाकर्षण पत्र बुझाएको पूर्व प्रदेश सभा सदस्य गिरिले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष यादवले यस विषयमा आँफुले वडाध्यक्ष चौहानसंग एक पटक छलफल गर्ने र त्यसबाट समस्या समाधान ननिस्किएको खण्डमा थप प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाएको गिरिले जानकारी दिए ।

