प्रमोद यादव
पर्सा,४भदौं : पर्साको सखुवा प्रसौनी गाँउपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टले सरकारी अनुदानको मल वितरण प्रकृयामा विभेद र अनियमितता गरेको आरोप लागेको छ । स्थानीय तह मलि वितरण व्यवस्थापन समितिको संयोजकसमेत रहेकी गाँउपालिका उपाध्यक्ष बिष्टले सरकारी अनुदानको मल वितरणका लागि कृषि सहकारी संस्थालाई गरिने सिफारिसमा विभेद र अनियमितता गरेको आरोप लागेको हो ।
बुधबार सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ मा आयोजित पत्रकार सम्मेलनमा कोडेक कृषि सहकारी संस्थाका अध्यक्ष सत्यजीत चौधरी थारुले गाउँपालिका उपाध्यक्ष बिष्टले वडा नम्बर २ मा किसानलाई मल वितरणका लागि छुट्याएको कोटाको सूचीबाट आफ्नो कृषि सहकारी संस्थाको नाम नै हटाइदिएको आरोप लगाए ।आफ्नो कृषि सहकारी संस्थाले लामो समयदेखि किसानलाई निष्पक्ष ढंगबाट मल वितरण गर्दै आएको भएपनि गाउँपालिकाका उपाध्यक्ष बिष्टले केही व्यक्तिहरूको उक्साहटमा लागेर आफ्नो संस्थालाई मल वितरणमा रोक लगाएको आरोप चौधरीको छ ।
गाँउपालिका उपाध्यक्ष बिक्ष्टले आँफु निकटका व्याक्तिको कृषि सहकारी संस्थालाई मल वितरणको लागि सिफारिस गरेको भन्दै चौधरीले त्यसको स्थानीय किसानहरुले विरोध जनाएको बताए। गाँउपालिका उपाध्यक्ष बिष्टका पति गौरीशंकर महत्तोले पटकपटक कोडेड कृषि सहकारी संस्थामा आएर नियमविपरित ४० बोरा मल दिन दबाब दिएको तर सहकारीले नमानेपछि त्यसैको रिसमा गाँउपालिका उपााध्यक्ष बिष्टले आफ्नो संस्थालाई मल वितरणमा रोक लगाएको अध्यक्ष चौधरीले आरोप लगाए।
पत्रकार सम्मेलनमा स्थानीय किसान शम्भु यादवले पनि कोडेक कृषि सहकारी संस्थाको नाम सिफारिस नगरिएपछि मल नपाएर किसानहरु समस्यामा परेको बताए । उनले अहिलेसम्मपनि किसानले धानबालीमा मल छर्न नपाएको दुखेसो पोखे ।
तर सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष बिष्टले भने केही स्थानीयले कोडेक कृषि सहकारी संस्थाले मल वितरणमा अनियमितता गरेको उजुरी गरेपछि उक्त संस्थालाई मल वितरणमा रोक लगाइएको दाबी गरिन् । गाँउकै अन्य कृषि सहकारी संस्था मार्फत वडा नम्बर २ मा किसानलाई मल वितरणको तयारी भइरहेको उनले बताइन्। उनले भनिन्,‘मलाई कुनैपनि सहकारी संस्थासंग आग्रह पुर्वाग्रह छैन ।सहकारीले निष्पक्ष ढंगबाट मल वितरण गरुन् भन्ने मात्रै मेरो चाहना हो ।’कोडेड कृषि सहकारीबाट आँफु वा आफ्नो परिवारका कोहिपनि सदस्यले एक बोरापनि मल नमागेको भन्दै उनले आँफुमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरिन् ।
यता,गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले वडा नम्बर २ का किसानका लागि मल वितरण्को विषयलाई लिएर विवाद भएको थाए पाए लगत्तै काठमाडौँबाट आएको बताए । गाँउमा सर्वदलीय बैठक राखेर उक्त विवाद टुंग्याउने पहल गरेको भन्दै उनले कुनैपनि संस्था वा किसानसंग विभेद हुन नदिने बताए । उनले मल वितरण सम्बन्धि विवाद टुंग्याएर किसानलाई सहज रूपबाट मलखाद वितरण गर्ने व्यवस्था मिलाइएको पनि बताए ।