वीरगन्ज,२३साउनःइन्डियन प्रिमियर लिग (आईपीएल)को टोली रोयल च्यालेन्जर्स बेग्लोर(आरसीबी)को नेपालस्थित आरसीबी फ्यान क्लबले नेपाली क्रिकेटर आसिफ शेखलाई जर्सी प्रदान गरेको छ।
नेपाली राष्ट्रिय टिमका सदस्य आसिफलाई विराट कोहलीसहित आरसीबीका खेलाडीद्वारा हस्ताक्षर गरिएको आरसीबी जर्सी क्लबले प्रदान गरेको हो।आरसीबी फ्रेन्चाइजबाट पठाइएको उक्त जर्सी क्लबले कृतज्ञता र प्रशंसा स्वरूप टोकन अफ अप्रिसिएसनका रूपमा हस्तान्तरण गरेको छ।
वीरगन्जको मुर्ली निवासी आसिफ आइपीएलमा आरसीबीका समर्थक हुन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर र ब्याट्सम्यान हुन्।
आरसीबी फ्यान क्लब नेपाल आरसीबीको नेपालस्थित आधिकारिक मान्यता प्राप्त फ्यान क्लब हो ।विगत एक वर्षदेखि क्लबले नेपालमा रहेका आरसीबीका समर्थकहरूलाई एकजुट गर्ने उद्देश्यका साथ फोटो तथा भिडियो प्रतियोगिता, इन्डोर क्रिकेट प्रतियोगिता, लाइभ स्क्रिनिङ, क्विज सेसन जस्ता विविध अनलाइन तथा अफलाइन गतिविधिहरू गर्दै आइरहेको छ ।
यसै क्रममा बिहीबार आरसीबी फ्यान क्लब नेपालले नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर तथा ब्याट्सम्यान आसिफसँग विशेष अन्तर्वार्तापनि लिएको थियो । उक्त अन्तर्वार्तामा आसिफले आफ्नो क्रिकेट यात्रा, नेपाली क्रिकेटको उन्नति, विराट कोहलीप्रतिको सम्मान तथा आरसीबीप्रतिको लगावका विषयमा खुलस्त र आत्मीय ढंगलले कुराकानी गरेका थिए।

