
बारा,१७साउनःबाराको सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा आगामी भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा प्रतियोगिता हुने भएको हो । सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी गराएको हो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, भारतको दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लब गरी ८ टिमको सहभागिता रहनेछ । रात्री समयमा हुने प्रतियोगिता सिमरा रंगशालामा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ र उपविजेताले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले महिला फुटबलको विकास र प्रवद्र्धनका लागि यसपटकदेखि महिला फुटबल प्रतियोगिता सुरु गर्न लागेको हो । क्लबका अध्यक्ष राजकपुर राउतले प्रतियोगितालाई नियमित रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।लामाले सिमरालाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउन सकिने धारणा राखे ।
सिमरा भेट्रान क्लबका अध्यक्ष हरी चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नव जनजागृति युवा क्लब सिमराका महासचिव शम्भु सिंह ठकुरी, नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, क्लबका सल्लाहकार विनोद परियार, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले लगायतकाकोपनि सहभागिता थियो ।

