वीरगन्ज,५साउनःवीरगन्जको कादम्बरी एकेडेमीले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउन सफल आफ्ना विद्यालयका चार जना विधार्थीहरुलाई सम्मानित गरेको छ ।
आइतबार आयोजित काार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एंव वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले चार जिपिए ल्याउन सफल कादम्बरी एकेडेमीका विद्यार्थीहरुलाई साक्षी यादव, सौरभ पाण्डे, यस जयसवाल र सिद्धि शर्मालाई सम्मानित गरे ।कार्यक्रमका ती विद्यार्थीहरुका अभिभावकहरुलाईपनि दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा बोल्दै वीरगन्ज महानगरका मेयर सिंहले संसारमा असम्भव भन्ने कुरा केहिपनि नरहेको भन्दै मान्छेले अठोट लिएर लगनशील भई मेहनत गरेमा जुनसुकै लक्ष्यपनि प्राप्त गर्न सक्ने बताए । त्यो कुरा कादम्बरी एकेडेमीका विद्यार्थीहरुले पुष्टि गरेको उनले बताए ।
मेयर सिंहले वीरगन्जलाई वैभव वीरगन्ज बनाउने आफ्नो परिकल्पनालाई सार्थक बनाउन विभिन्न क्षेत्रमा काम गरिरहेको सन्दर्भमा यहाँको शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताए । वीरगन्जलाई ‘शैक्षिक हब’ बनाउनतर्फ आँफु लागिपरेको भन्दै उनले सामुदायिक तथा निजी विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि महानगरपालिकाले निरन्तर काम गरिरहेको बताए ।
कादम्बरी एकेडेमीका प्रधानाध्यापक राजेन्द्र आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य,शिक्षा विकास समन्वय ईकाइ पर्साका प्रम्ख हरि राउत लगायतकाकोपनि सहभागिता थियो ।

