वीरगन्ज,१साउनः वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार कार्याालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय भन्सार विभागले दिएको लक्ष्य पुरा गर्न नसकेपनि अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा बढी नै राजस्व संकलन गरेका छन् ।
नेपालमा हुने आयात–निर्यातको अन्र्तराष्ट्रिय कारोबारको ७० प्रतिशत हिस्सा वीरगन्ज नाकाबाटै हुने गरेको छ । यस्तै देशको कूल राजस्व संकलनमा वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको योगदान ४० प्रतिशतभन्दा बढी नै रहने गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार कार्यालयले १ खर्ब ७५ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले गत आर्थिक वर्ष २०८१÷८२ का लागि २ खर्ब १८ अर्ब ९५ करोड ५९ लाखको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले लक्ष्यको ८० दशमलव ३५ प्रतिशत राजस्व संकलन गरेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज भन्सारले लक्ष्यको ६४ दशमलव ०१ प्रतिशत मात्रै अर्थात १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा गत आर्थिक वर्ष २०८१/८२ मा १६ प्रतिशत बढी राजस्व संकलन भएको लामिछानेले बताए ।
आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६० दशमलव १९ प्रतिशत मात्र अर्थात १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगन्ज भन्सारले त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्य भन्दा शुन्य दशमलव ५४ प्रतिशतले बढि नै अर्थात २ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियाो ।तर त्यसअघिका पाँच वर्ष (आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/७८ सम्म) मा भने वीरगन्ज भन्सार राजस्व असुलीको लक्ष्य पुरा गर्न लगातार असफल नै भएको थियो ।
यता वीरगन्ज नाकामै रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको पनि गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन बढेको छ । सुक्खा बन्दरगाह भन्सारले गत आर्थिक वर्ष २०८१/८२ मा ४९ अर्ब ८२ करोड ३७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा ६० अर्ब चार करोड ८७ लाख ९७ हजारको लक्ष्य पाएकोे सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ८२ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ७१ दशमलव.७५ प्रतिशत मात्र अर्थात ४७ अर्ब ३१ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको थियाो । त्यसअघिको आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६२.८८ प्रतिशत मात्रै अर्थात ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार राजस्व संकलन गर्न सकेको सुक्खा बन्दरगाह भन्सारले आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्यको ९४.९८ प्रतिशत राजस्व संकलन गरेको थियो ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानले गत आर्थिक वर्ष २०८१/८२ मा समग्रमा भारत तथा तेस्रो मुलुकबाट मालसामानको आयात बढेका कारणले राजस्व संकलनमा सुधार देखिएको बताए ।उनले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्षको भन्दा १६ प्रतिशत बढीले राजस्व संकलन भएको बताए ।
राजस्व बढी उठ्ने इन्धन, औद्याोगिक कच्चा पदार्थ,निर्माण सामग्री लगायतको आयात बढेका कारण राजस्व संकलनपनि बढेको उनले बताए ।
सरकारले दिएकोे राजस्व संकलनको लक्ष्य त फेरिपनि पुरा भएन नि ? भन्ने प्रश्नमा भने लामिछानेले जवाफ दिदैं भने,‘समग्र देशको अर्थव्यवस्था नै अहिले पहिलाको जस्तो पूर्ण लयमा फर्किन सकेको छैन । त्यसकारण सरकारले दिएको लक्ष्य भने पुरा हुन सकेन । यद्यपी अघिल्ला आर्थिक वर्षको तुलनामा अहिले भन्सार राजस्व संकलनमा निक्कै सुधार देखिएको छ ।’

