
वीरगन्ज,२७असार:मधेस प्रदेशमा सबैभन्दा बढी धान राेपाइँ पर्सा जिल्लामा भएको छ।मधेस प्रदशमा हालसम्म ३३ दशमलव ७८ प्रतिशत मात्र रोपाइँ भएकोमा पर्सामा सबैभन्दा बढी ७३ दशमलव ३४ प्रतिशत राेपाइँ भएको हाे।पर्सा जिल्लामा ३९ हजार ७३१ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा शुक्रबारसम्म ७३ दशमलव ३४ प्रतिशत जमिनमा धान रोपाइँ भइसकेको कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीपकुमार यादवले जानकारी दिए।
उनका अनुसार मधेस प्रदेशमा कुल खेतीयोग्य जमिनको ३ लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा शुक्रबारसम्म १ लाख २५ हजार ८८८ दशमलव ६ हेक्टर अर्थात् ३३ प्रतिशत जमिनमा रोपाइँ भइसकेको छ।
मधेसमा सबैभन्दा कम रोपाइँ सप्तरीमा भएको छ।सप्तरीमम ८१ हजार ६६८ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ६८ हजार हेक्टरमा धान खेती हुँदै आएकाेमा शुक्रबारसम्ममा १६ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ।
धनुषामा २५ प्रतिशत, सिरहामा २९, बारामा ४०, रौतहटमा ४५, सर्लाहीमा ४० र महोत्तरीमा १८ प्रतिशत जमिनमा धान रोपाइँ भइसकेको छ। मधेसमा कुल ५ लाख ४२ हजार ५८० दशमलव ७८ हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती हुँदै आएको छ। तर, २५ प्रतिशत जमिनमा पनि सिँचाइ नभएको अधिकृत यादवले बताए। ‘प्रमुख चुनौती नै सिँचाइ हो। सिँचाइ नभएसम्म किसानले रोपाइँ गर्न सक्दैनन्,’ उनले भने, ‘बिउ र मल त जेनतेन पाइहाल्छ, सिँचाइ मुख्य समस्या हो।’
धान बाली अनुसन्धान केन्द्रबाट अवकाशप्राप्त डा. रामवरण यादवले मुख्य समस्या सिँचाइ नै रहेको बताए। सरकारले ७० प्रतिशत जमिनमा सिँचाइ भएको दाबी गरे पनि वास्तविकतामा ३० प्रतिशत जमिनमा मात्रै सिँचाइ रहेको उनले दाबी गरे। ‘यहाँको किसान सधैँ आकाशे पानीकै भरमा छ। यसपालि अहिलेसम्म पानी परेन,’ उनले भने, ‘त्यही भएर रोपाइँ हुन सकेको छैन।
मधेस प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्दै संघीय सरकारसँग सहयोगका लागि अनुरोधसमेत गरेको छ। सरकारले राहत दिने मनसाय बनाइसकेको भए पनि स्रोत निर्धारण भइसकेको छैन।साभार:इकान्तिपुर

