पर्सा,१३कार्तिक:प्रहरीले कात्तिक ७ गते पटेर्वासुगौली गाउपालिका–२ थरकटीमा लगाइएको करीब १ बिघा गाँजा खेती नष्ट गर्यो । जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको करीब सात हजार गाजाको बोट त्यस क्रममा फडानी तथा नष्ट गरिएको थियो ।
शनिबार इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीकै टोलीले पर्सागढी नगरपालिका– १ गुृलरिया र ३ झबराहामा २ बिघामा लगाइएको गाँजा खेती नष्ट गर्यो । यस क्रममा १५ हजार गाँजाको बोट नष्ट गरियो ।
तर दुबै घटनामा एउटा पनि जग्गाधनीको पहिचान गरी उनीहरुलाई कारबाहीको दायरामा प्रहरीले ल्याएको छैन ।
तुलनात्मक रुपमा जिल्लाका दुर्गम तथा वनजंगल नजिकका बस्तीहरुमा बर्षेनी यसै सिजनमा गाँजा खेती नष्ट गरिन्छ तर खेती गर्नेहरुको पहिचान नै हुँदैन ।
जिल्लाका सबै पालिकाहरुमा नेपाल र सशस्त्र प्रहरीको उपस्थिति रहेपनि गाँजा खेती गर्नेहरुको मनोबल भने खस्किदैन । यसो हुँदा दुबै संगठनका स्थानीय प्रहरी इकाइहरुकै संरक्षणमा गाँजा खेती हुने गरेको आरोप लाग्ने गरेको छ ।
डेढ दशकअघिसम्म पर्सा गाँजा र अफिम खेतीको उर्वर भूमि थियो । प्रहरी प्रशासनकै मिलेमतो र संरक्षणमा हुने गरेको लागु औषध खेतीको क्रमभंग तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठको कार्यकालयमा प्रहरी तथा प्रशासनको आपसी समन्वयबाट भएको थियो ।
गाँजा खेती केवल आर्थिक मात्र नभई अपराधको जडको रुपमा पनि बिगतमा टाउको दुःखाई थियो । सामाजिक अभियन्ता प्रकाश थारु गाँजा खेती पुनः मौलाउदै जानु चिन्ताको बिषय भएको बताउछन् । ‘डेढ दशक अघि जिल्लामा यो समस्याको करीब करीब अन्त्य भएको थियो,’ उनले भने, ‘तर केही वर्ष यता फेरि मौलाउदै गएको छ, यसलाई समयमै निस्तेज गरिएन भने फेरी ठूलो रुप लिन सक्छ ।’
विगतमा स्थानीय मात्र नभई भारतीय कारोबारीहरुले पनि यहाँ खेत भाडामा लिई गाँजा/अफिम खेती गर्दथे । भारतीय बजारलाई लक्षित गरी गरिने गाँजा खेतीले यसमा संलग्न किसान देखि कारोबारीहरु सम्म मनग्गे आम्दानी गर्थे । नेपालमा ३ देखि ४ हजार रुपैया प्रति किलो मूल्य पर्ने गाँजा भारतमा पुगेपछि प्रति किलो १३ देखि १५ हजार रुपैया भारुको हुन जान्छ । यसले गर्दा तेब्बरी आम्दानीको लोभमा यसको बिचौलिया कारोबारमा पनि थुप्रै व्यक्तिहरु संलग्न हुन्छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक भारती कतिपय गाँजा खेती वन तथा सार्वजनिक जग्गामा लगाइने भएकाले खेती गर्नेहरुको पहिचानमा समस्या हुने गरेको बताउँछन् ।
यस्ता घटनामा स्थानीयले पनि गाँजा खेती गर्ने जग्गा धनी वा त्यस्ता जग्गा धनीको सँधियार बारे समेत सूचना दिन र बोल्न नमान्ने भएकाले जग्गा धनीको यकिन गर्न समस्या हुने गरेपनि प्रहरीले आफ्नो प्रयास भने जारी राखेको उनले बताए ।
छिमेकी मकवानपुर जिल्लामा हुने गरेको गाँजा खेतीको ट्रान्जिट अझै पनि पर्सा जिल्ला हो । यसको ग्रामिण भेग तथा पर्सा राष्ट्रिय निकुन्जको बाटो हुदै संगठित गाँजा तस्कर गिरोहले भारतसम्म गाँजा लग्ने गर्छन् ।शंकर आचार्य/कान्तिपुर