Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा ‘अलौ पर्व संग्रहालय’ र ‘रेल्वे म्युजियम’ बनाउने मेयर सिंहको घोषणा

वीरगन्ज,९असारःवीरगन्ज महानगरपालिकाले आगाममी आर्थिक वर्ष २०८२/८३ का लागि सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रबर्धन गर्ने नमूना र आकर्षक योजनाहरुपनि समावेश गरिएका छन् ।

सोमबार आयोजित वीरगन्ज महानग।रको नगरसभाको १३ औं अधिवेशनमा मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरगन्जको पर्यटन प्रबर्धन गर्न केहि नमूना योजनाहरु बारे जानकारी गराए ।

मेयर सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रबर्धनका साथै शिक्षा,स्वास्थ्य, सरसफाईलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर सिंहले वीरगन्जमा ‘अलौ पर्व संग्रहालय’ र ’रेल्वे म्युजियम’ निर्माण गरिने बताए ।

वीरगन्जको समकालीन इतिहासको सन्दर्भमा विशेष महत्व राख्ने ’अलौ पर्व’ (वीरगन्ज–१७ अलौमा १९०४ साल साउनमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणले तत्कालीन राजा राजेन्द्र विक्रम शाहलाई नियन्त्रणमा लिईएको घटना)को स्मृति संरक्षण, अध्ययन तथा भावी पुस्तामा ऐतिहासिक चेतना प्रवाह गर्न वीरगन्न्ज महानगरले ‘अलौ पर्व संग्रहालय’ निर्माण गरी त्यसमा अलौ पर्व सम्बन्धी ऐतिहासिक अभिलेख, सामग्री, चित्र, प्रतिकृति तथा दस्तावेजहरू राखिने मेयर सिंहले बताए ।

त्यस्तै वीरगन्ज नेपालको पहिलो रेल सेवा (रक्सौल–अमलेखगञ्ज रेल सेवा) प्रारम्भ भएको ऐतिहासिक सहर भएको भन्दै मेयर सिंहले रेलवे सेवा स्थापना भएको १०० वर्ष पुरा भएको अवसरमा,पुराना रेल्वे संरचनाहरूलाई संरक्षण र पुनःप्रयोग गर्दै ‘रेल्वे म्युजियम’निर्माणको कार्य अगाडि बढाइने बताए ।

यस्तै वीरगन्जको घण्टाघर आसपास वर्षौंदेखि खाली रहेको सार्वजनिक जग्गामा सुव्यवस्थित, हरित र आधुनिक ’विपि उद्यान’निर्माण गरिने योजनापनि नीति तथा कार्यक्रममा समावेश छ ।

यसैगरि वीरगन्ज–२८ बगहीमा ’महानगर नमुना अस्पताल’ निर्माण गर्ने,वीरगन्ज–२३ मा ‘सहुलियत दरको ल्याब सेवा (प्रयोगशाला)’ सञ्चालनमा ल्याइने, वीरगन्ज–१६ इनर्वामा बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरिने, महानगर आँफैले ‘महानगर फार्मेसी’ सञ्चालनमा ल्याउने योजनापनि महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरका सबै सामुदायिक विद्यालयमा ’एक विद्यालय, एक स्मार्ट कक्षा’कार्यक्रम लागू गरिने, आधारभूत तहका सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ ‘एक विद्यालय, एक ल्यापटप र एक प्रिन्टर’ कार्यक्रम लागु गरिने, वीरगन्ज–१० आदर्शनगरमा रहेको पुस्तकालयलाई आधुनिकीकरण गरिने ,३२ वटै वडामा सामुदायिक पुस्तकालय स्थापना गरिने, कक्षा १० का विद्यार्थीलाई लक्षित गरी एसईई परीक्षाको तयारीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिने मेयर सिंहले बताए ।

स्थानीय भाष भोजपुरी भाषा र संस्कृतिको संरक्षण, अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले वीरगन्जमा अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गरिने पनि उनले बताए ।

वीरगन्जलाई सुन्दर, समुन्नत, समृद्ध र “वैभव वीरगन्ज“का रूपमा रूपान्तरण गर्ने आफ्नो संकल्प, वीरगन्जबासीको चाहना र आँफुले चुनावमा गरेका प्रतिबद्धताहरुलाई मूर्त रूप दिनका लागि आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण, प्रभावकारी शिक्षा तथा स्वास्थ्य प्रणालीको प्रवद्र्धन,धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको संरक्षण र प्रवद्र्धन, सुशासनसहितको डिजिटल प्रशासन, योजनाबद्ध शहरी विस्तार र स्वच्छ, सफा तथा सुन्दर वीरगन्जको पहिचान निर्माणका योजनाहरु समावेश गरिएको मेयर सिंहले बताए ।

मेयर सिंहको अध्यक्षतामा भएको नगसभामा उपमेयर इम्तियाज आलम,प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी,सञ्चारकर्मी लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

वीरगन्ज महानगरका सबै वडामा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउनका लागि महानगरले थाल्यो काम

MadhesKhabar

गहुँ बालीका लागि वीरगन्जमा भित्रिन थाल्याे युरिया मल

MadhesKhabar

Leave a Comment