वीरगन्ज,१असारःमधेस प्रदेश सरकारले महिला कृषि स्वयंसेविका परिचालनका लागि आह्वान गरेको सूचनामा ७ हजार ५२६ जना महिलाले दरखास्त (निवेदन)दिएका छन् ।
मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा “महिला कृषि स्वयंसेविका परिचालन कार्यक्रम” समावेश गरेर प्रदेशभर करिब १ हजार २७३ महिला कृषि स्वयंसेविका परिचालन गर्न जेठ १५ गते दरखास्त आह्वान गरेको थियो ।
जसका लागि सबै भन्दा बढी दरखास्त कृषि ज्ञान केन्द्र सप्तरीबाट १ हजार ४६१ जना महिलाले दिएका छन् भने सबैभन्दा कम कृषि ज्ञान केन्द्र पर्साबाट ५ सय २४ जना महिलाले दरखास्त दिएका छन्।यस्तै सिरहाबाट १ हजार २३७ जना, धनुषाबाट १ हजार १६ जना, महोत्तरीबाट ८ सय १३ जना,सर्लाहीबाट ९ सय ४६ जना,रौतहटबाट ७ सय १५ जना र बाराबाट ७ सय ३७ जना महिलाले दरखास्त दिएका छन्। यी सबै आवेदनहरू सम्बन्धित कृषि ज्ञान केन्द्र तथा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूमा संकलन गरिएको हो।
महिला कृषि स्वयंसेविका परिचालन कार्यक्रम अन्तर्गत छनोटमा परेका महिलाहरूलाई कृषि तथा पशुपालनसम्बन्धी सेवा प्रवाहमा सहयोगीको रूपमा मधेस प्रदेशका सबै पालिकाका हरेक वडामा परिचालन गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनाार्दन सिंह क्षेत्रीले बताएका छन् । साथै यस कार्यक्रमले ग्रामीण महिलाहरूलाई कृषि क्षेत्रमा सशक्त बनाउने, सीप विकास गराउने र रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको उनको भनाई छ।

