Madhes Khabar
शिक्षा

वीरगन्जको ‘भविष्य मेला’ मा सहभागी हुने विद्यार्थीहरुकाे निःशुल्क डिम्याट खाता खोलिने

वीरगन्ज,२७जेठ: वीरगन्जमा आगामी जेठ ३० गते आयोजना हुने ‘भविष्य मेला २०२५’ मा सहभागी हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि एबीसी सेक्युरीटीज प्रालिले निःशुल्क डिम्याट खाता खोल्ने भएको छ ।

नि:शुल्क डी-म्याट खाता खोल्ने सुविधा प्रदान गर्न मंगलबार एबीसी सेक्युरीटीजका वीरगन्ज शाखा प्रमुख दीपल खन्ना र भविष्य मेलाका निर्देशक नवीन कार्कीबिच सम्झौतामा हस्ताक्षर भएको छ ।

जेठ ३० गते शुक्रवार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक दिने शैक्षिक तथा करियर मेलाले पर्सा, बारा, रौतहट र आसपासका क्षेत्रका तीन हजारभन्दा बढी विद्यार्थी र अभिभावकलाई जोड्ने अपेक्षा गरिएको छ।

मेलाले विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा, व्यावसायिक तथा प्राविधिक शिक्षालगायत विभिन्न क्षेत्रबारे जानकारी प्रदान गर्दै विद्यार्थीहरूलाई उनीहरूको रुचि र क्षमताअनुसार शैक्षिक संस्था छनोट गर्न मार्गदर्शन गर्नेछ ।

एबीसी सक्युरीटीज प्रालिसँगको सम्झौताले मेलामा सहभागी विद्यार्थीहरूलाई वित्तीय साक्षरता र शेयर कारोबारको अवसर प्रदान गर्नेछ । “यो पहलले विद्यार्थीहरूलाई वित्तीय रूपमा सचेत र आत्मनिर्भर बनाउन सहयोग गर्नेछ,” शाखा प्रमुख दीपल खन्नाले भने ।

निर्देशक नवीन कार्कीका अनुसार, सहकार्य शैक्षिक र वित्तीय जागरूकताको संयोजन भएको बताए । “हामी विद्यार्थीहरूलाई शैक्षिक अवसरसँगै वित्तीय साक्षरताको महत्त्व बुझाउन प्रतिबद्ध छौँ । एबीसी सक्युरीटीजसँगको सम्झौताले हाम्रो लक्ष्यलाई थप सशक्त बनाएको छ,” उनले भने ।

मेलामा निःशुल्क डिम्याट खातासहित निःशुल्क बैंक खाता, आँखा जाँच शिविर, नि:शुल्क नेपाली टेलिकमको सिम कार्ड, मेरिट र आवश्यकतामा आधारित छात्रवृत्ति, स्टेशनरी किट, शैक्षिक किताब र टेक ग्याजेटहरू उपलब्ध हुनेछन् । भविष्य मेलामा उपलब्ध सुविधाहरूले विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ ।

“भविष्य मेला विद्यार्थीहरूका लागि अवसरको ढोका हो । एबीसी सक्युरीटीजसँगको सहकार्यले मेलालाई थप प्रभावकारी बनाउनेछ,” कार्कीले थपे । मेलाले वीरगञ्ज र आसपासका क्षेत्रका ग्रामीण र सहरी समुदायका विद्यार्थीहरूलाई शैक्षिक समानता र करियर तयारीमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

वीरगन्ज र आसपासका विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र स्थानीय व्यवसायलाई मेलामा सहभागी हुन आयोजकले निमन्त्रणा गरेको छ । मेलाले वीरगन्जलाई क्षेत्रीय शैक्षिक हबको रूपमा स्थापित गर्न र स्थानीय युवाहरूलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

पर्सा, बारा र रौतहटमा उच्च माध्यमिक शिक्षाबारे जानकारीको कमी रहेको कुरालाई मेलाले सम्बोधन गर्नेछ । “धेरै विद्यार्थी र अभिभावक शैक्षिक विकल्प र करियर सम्भावनाबारे अनभिज्ञ छन् । मेलाले उनीहरूको मनमा रहेको अन्योल हटाउनेछ,” कार्कीले भने । मेलाले विद्यार्थीहरूलाई उनीहरूको रुचि र आर्थिक अवस्थासँग मेल खाने संस्था छनोट गर्न सहयोग गर्नेछ भने शैक्षिक संस्थाहरूलाई योग्य र उत्साही विद्यार्थीहरूसँग जोड्ने पुल बन्नेछ ।

वीरगन्जका निजी र सामुदायिक विद्यालयहरू, स्थानीय व्यवसाय, र समुदायको सहभागिताले मेलालाई थप जीवन्त बनाउनेछ । स्थानीय युवा नेता राकेश यादवले मेलाको महत्त्वलाई यसरी व्यक्त गरे, “मेलाले हाम्रा विद्यार्थीलाई आफ्नै सहरमा अवसरको संसार देखाउनेछ । वीरगञ्जलाई शैक्षिक हब बनाउने यो एउटा ठूलो कदम हो ।”

“मेला केवल एक कार्यक्रम होइन, यो त हाम्रा युवाहरूको सपनालाई उडान दिने आन्दोलन हो,” कार्कीले उत्साहका साथ भने । स्थानीय व्यवसाय, मिडिया र समुदायको सहयोगले मेलाले वीरगन्जको सामाजिक-आर्थिक प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

स्थानीय अभिभावक सुनिता कुमारीले मेलाको अवधारणालाई हृदयदेखि स्वागत गरिन् । “हाम्रा छोराछोरीले आफ्नै सहरमा गुणस्तरीय शिक्षा र करियर अवसरबारे जानकारी पाउनेछन् । यो हाम्रो समुदायका लागि गर्वको कुरा हो,” उनले भनिन् ।

Related posts

भोलिदेखि सुरु हुने एसईईमा पर्सा जिल्लाबाट १० हजार ७०३ विद्यार्थी सहभागी हुदैं

MadhesKhabar

ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुले गरे तालाबन्दी

MadhesKhabar

चिसाे बढेपछि पर्साकाे जिराभवानी गाँउपालिकाका विद्यालयहरु १० दिनका लागि बन्द

MadhesKhabar

Leave a Comment