Madhes Khabar
समाचार

खानेपानी र सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसंग मन्त्री यादवले खोजे प्रतिबद्धता

काठमाडौं,११जेठ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलहरुसंग प्रतिबद्धता खोजेका छन्। खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाउने उदेश्यले मन्त्री यादवले दलहरुसंग प्रतिबद्धता खोजेका हुन् ।मन्त्री यादवले खानेपानी र सरसफाइ (वास) क्षेत्रलाई राजनीतिक दलहरूको प्राथमिक एजेन्डा बनाउनका लागि प्रतिबद्धतापनि जनाएका छन् ।

सबै प्रमुख दलका नेताहरूलाई पत्राचार गरी मन्त्रीपरिषद र संसदमा यस विषयलाई उठाउने, सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको नेतृत्वमा बैठक आयोजना गर्ने, र समावेशी र जलवायु अनुकूल सरसफाइ सेवाको लागि रणनीति निर्माण गर्ने प्रतिबद्धता यादवले व्यक्त गरेका छन् ।

मन्त्री यादवले खानेपानी र सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्नका लागि विभिन्न राजनीतिक दलहरूबाट सहकार्यको अपेक्षापनि गरेका छन् । यसका लागि उनले विभिन्न रणनीति र कदमहरू अघि बढाएका छन् ।

यसका अतिरिक्त, मन्त्री यादवले सामुदायिक खानेपानी प्रणालीमाथि लाग्ने कर खारेज गर्ने, मन्त्रालयलाई मजबुत बनाउन खानेपानी तथा सरसफाइ मन्त्रालयको गठनको पहल गर्ने र मेलम्ची खानेपानीको सेवा चन्द्रागिरि नगरपालिकासम्म विस्तार गर्ने प्रतिबद्धतापनि जनाएका छन् ।खानेपानी र सरसफाइलाई नेपालको दिगो विकासको आधारभूत स्तम्भको रूपमा अघि बढाउनका लागि राजनीतिक दलहरूको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक रहेको मन्त्री यादवले बताए ।

उनले भने, “नागरिकको जीवनस्तर सुधार र दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रलाई अब राजनीतिक प्राथमिकताको विषय बनाउनु पर्ने आवश्यक छ ।”

स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता र समावेशी विकासमा प्रत्यक्ष प्रभाव पार्ने यस क्षेत्रको दीर्घकालीन सुधारबिना समृद्ध नेपालको सपना पुरा हुन नसक्ने भएकाले पनि खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाइनु पर्ने मन्त्री यादवले बताए । उनले भने , “खानेपानी तथा सरसफाईमा लगानी वृद्धि र नीतिगत प्रतिबद्धता आवश्यक रहेको छ । त्यसैले यसलाई राजनीतिक प्राथमिकताको विषय बनाउन आवश्यक छ ।”

एनले भने, “नेपालले सन् २०३० सम्ममा सबै नागरिकलाई सुरक्षित पानी र सरसफाईको पहुँच पु¥याउने लक्ष्य लिएको भए पनि बजेट, योजना कार्यान्वयनको कमजोरी र राजनीतिक इच्छाशक्तिको अभावले यो लक्ष्यमा चुनौती देखिएको छ ।”

विशेषगरी यस क्षेत्रमा रहेका चुनौतीहरुलाई जस्तैः तीनै तहका सरकारबाट आयोजना तथा कार्यक्रमहरू सञ्चालन हुँदा कार्यान्वयनमा दोहोरोपना हुनु, क्षेत्रगत दृष्टिकोण र समन्वय, स्रोत परिचालन र कार्यान्वयनमा यसको प्रणालीगत चुनौतिहरू, अपर्याप्त वित्तपोषण र कमजोर वित्तीय स्रोत व्यवस्थापन आदि सामना गर्न पनि राजनीतिक समन्वय र अग्रसरताको आवश्यकता देखिएको मन्त्री यादवद्धारा प्रेसित पत्रमा उल्लेखगरिएको छ ।

यसैलाई मध्यनजर गरी खानेपानी मन्त्रालयको आयोजनामा गत २०८१ पुस २७ गते सोमबार, राजनीतिक संवाद तथा क्षेत्रगत रणनीति विषयक कार्यक्रम सम्पन्न भएको र उक्त कार्यक्रममा जम्मा १५३ जना संघ, प्रदेश तथा स्थानीय तहका नेतृत्ववर्गहरुको उपस्थितिमा एक सामूहिक छलफल ( प्यानल छलफल) आयोजना गरिएको थियो ।

हाल देशभरको तथ्याङ्क अनुसार अझै पनि करिब १५ प्रतिशत जनसङ्ख्या सुरक्षित खानेपानी सेवाबाट बञ्चित छन् भने सरसफाई पहुँचमा पनि भौगोलिक असमानता स्पष्ट देखिको बताइएको छ ।

सन् २०१० को जुलाइमा संयुक्त राष्ट्रसंघले खानेपानी तथा सरसफाईको पहुँचलाई मानव अधिकारको रूपमा घोषणा गरिसकेको र नेपालमा हालसम्म हाँसिल खानेपानी र सरसफाईको अवस्थाहरुको उपलब्धीमा राजनीतिक नेतृत्वको भूमिका अहम् रहेको विगतका सफल अभियानहरु जस्तै खुला दिसामुक्त घोषणाले प्रमाणित गरीसकेको बताइएको छ ।

नेपालको समग्र खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको समग्र विकास एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता तथा लक्ष्यहरु जस्तैः राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति, २०८०, १६ औँ आवधिक योजना, दिगो विकास लक्ष्य २०३०, हाँसिल गर्नका निम्ति खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रलाई राजनीतिक तहमा समेत विगतमा जस्तै प्राथमिकताका साथ पहल कदमी लिन आवश्यक देखिएको जनाइएको छ ।

 

Related posts

बारा : ८ कट्ठामा लगाइएको गाँजा खेती नष्ट

MadhesKhabar

वीरगञ्ज महानगरको आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिमा १३ सदस्य मनोनीत

MadhesKhabar

वीरगन्जको आदर्शनगरबाट ६ लाख नगदसहित रक्सौलका एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment