बारा,२७माघ :बारामा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले बरामद गरेको ७ सय ५० लिटर अवैध घरेलु मदिरा(रक्सी) नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले अमलेखगञ्ज चोकमा चेकजाँच गर्दा बरामद गरेको अवैध घरेलु मदिरा नष्ट गरेको हो ।
प्रहरीका अनुसार हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेका विभिन्न सवारी साधनहरूमा लुकाइछिपाई राखिएको अवस्थामा २५ पोका र ५ गैलनमा राखिएको करिब ७५० लिटर अवैध घरेलु मदिरा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको प्रहरी टाेलीले फेला परेको थियो । मदिराको अनुमानित बजार मूल्य ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको मदिरा कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायको उपस्थितिमा खाेलामा पाेखेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार, अवैध मदिरा उत्पादन, बिक्री तथा ओसारपसार नियन्त्रण गर्न प्रहरीले सशक्त अभियान सञ्चालन गरिरहेको छ । स्थानीय प्रशासन र प्रहरीको संयुक्त पहलमा अवैध मदिरा नियन्त्रणका लागि कडा निगरानी राखिएको छ ।

