
क्रान्ति शाह
वीरगन्ज,२० असोज : बाराको अमलेखगञ्ज नजिकै तीन नम्बर पुल छेउमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटनामा पर्दा ठूलो मानवीय क्षति भएको छ ।
नारायणगढबाट वीरगन्ज आउदै गरेको बा०६–००१ ख–०११० नम्बरको बस बिहान साढे १० बजेतिर तीन नम्बर पुल नजिकैको मोडमा सडकबाट खोलामा खसेको हो ।

दुर्घटनामा १० जना भन्दा बढिको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । तर बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले भने दुर्घटनास्थलमा अहिले सम्म ८ जनाको मात्रै मृत्यु भएको पाइएको बताए ।
दुर्घटनामा २५ जना घाइते भएकोमा ती मध्ये १५ जनाको अवस्था गम्भिर रहेको पनि उनले बताए । घाइतेहरुलाइ उपचारका लागि हेटौडा अस्पताल र सिमराको अल्पाइन अस्पतालमा पठाइएको जानकारी बोगटीले दिए ।
बस , तीन नम्बर पुल नजिकैको मोडमा नमोडिकन सडकबाट करिब १५ मिटर तल खोलामा खसेको बोगटीले बताए । मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी रहेको पनि उनले बताए ।

