
वीरगन्ज,७जेठःबाराको कलैया उपमहानगरपालिका–१८ मोतिसर घर भएका ४७ वर्षीय जोगेश्वर ठाकुर पुरानो पेशामा फर्किएका छन् । हथोडा र आरीले काठका सामग्री बनाउन थालेका छन् । करेसाबारीमा तरकारीका बोट बिरुवा गोडमेल गर्छन् । परिवारजन र छरछिमेकीसँग शान्तिपूर्वक भलाकुसारी गर्छन् ।
यी तिनै जोगेश्वर हुन् जसलाई परिवारले नै सात वर्षसम्म गोठमा पशुसरह साङ्लोले बाँधेर राखेका थिए । जवानीको ऊर्जावान ७ वर्ष नारकीय जीवन भोगेका जागेश्वरको त्यतिबेला मानसिक अवस्था ठीक थिएन । आफन्तले उनको उपचारमा नेपालदेखि भारतसम्म धेरै अस्पताल धाए । उपचारमै ५ कठ्ठा खेत पनि बिक्री भयो । तर जोगेश्वर शान्त भएनन् ।
जो कोहीलाई पनि कुट्ने, पिट्ने, गाली गलौज गर्ने गरेपछि परिवारले उनलाई बाध्य भएर बाँधेर राख्नुप¥यो । २०७४ सालको असार महिनामा मानव सेवा आश्रम वीरगन्जको व्यवस्थापनले जोगेश्वरको समस्याबारे जानकारी पाएपछि आश्रमको उद्धार टोली उनको घरमै पुगेर निर्वस्त्र अवस्थामै उद्धार गरेर ल्याएको थियो ।
८ महिना आश्रममा आश्रय लिएका जोगेश्वरको त्यहाँ मानसिक उपचार गरियो । मानसिक रोग विशेषज्ञ डा. भरत गोइतले उनको उपचार गरेपछि उनको अवस्थामा धेरे हदसम्म सुधार आयो । त्यसपछि आश्रमको व्यवस्थापनले उनलाई घर फिर्ता गरी पारीवारिक पुनर्मिलन गरायो ।
अहिले पनि जागेश्वरको सामान्य औषधोपचार चल्दै छ । डा. गोइतको सम्पर्कमा छन् । तर उनको अवस्थामा अकल्पनीय परिवर्तन आयो ।
सामान्य र स्वस्थ्य मानिस सरह उनको दैनिकी अहिले चलेको छ । उनको आक्रामकता पनि शून्यमा झरेको छ । ४२ वर्षीया पत्नी सुदामा देवीको मुहारमा अहिले मुस्कान फर्किएको छ । पतिको उपचार गराउँदा गराउँदै शारीरिक र मानसिक मात्र नभई आर्थिक भारले पनि थिचिएकी सुदामा अहिले निःशुल्क उपचार पाएर पतिको मानसिक अवस्थामा व्यापक सुधार आएपछि दंग छिन् । ‘उहाँको उपचारमा धेरै वर्ष सास्ती भोगेँ,’ उनी भन्छिन्, ‘५ कठ्ठा खेत पनि बिक्यो, तर अहिले तनाव छैन ।’
दुई छोराहरु पनि कमाउन थालेको र पतिले पनि पुरानै रोजगारी गर्न थालेकाले अब जीवन धान्न सहज भएको उनले बताइन् । जोगेश्वर २०६२ सालको अन्त्यतिर वीरगन्जको पिपरामठमा तत्कालीन राजा ज्ञानेन्द्र आएका बेला सवारीस्थलमा काम गरेका थिए । उक्त कामको पारिश्रमिक दिइएन । उल्टै सुरक्षाकर्मीले धम्की दिएपछि सोही कारण आफ्नो दिमागमा डर फैलिँदै गएको उनी बताउँछन् ।
‘सुरक्षाकर्मीले तर्साएपछि मेरो मनमा भय बस्न गएको रहेछ,’ उनले भने, ‘त्यसपछि विस्तारै मानसिक अवस्था खराब हुँदै गयो, पछि मसँग के कस्ता घटना भयो मलाई सम्झना पनि छैन ।’ आफू बिसेक भएपछि परिवारजनले आफूलाई लामो समय गोठमा बाँधेर राखिएको सुनाए पनि आफूलाई ती कुरा सम्झना नभएको उनले बताए ।
मानव सेवा आश्रम वीरगन्जका अभिभावक प्रकाश थारु आश्रमले थुप्रै सडक मानव तथा मानसिक समस्या भएका व्यक्तिहरुको उद्धार गरेकोमा ती मध्ये सबैभन्दा नारकीय जीवन जोगेश्वरले भोगेको बताउँछन् । ‘आजको युगमा कोही मानिस उपचारको अभावमा आफ्नै घरको गोठमा परिवारबाटै ७ वर्ष निर्वस्त्र रुपमा पशु सरह बाँधिएर बसेको छ भनि सुन्दा पनि पत्यार लाग्दैन,’ उनले भने, ‘तीनै जोगेश्वर अहिले दोस्रो जीवन बाँच्दैछन्, यो भन्दा खुशीको कुरो के नै हुन सक्छ ।’
आश्रम वीरगन्जको तथ्यांक अनुसार, २०७६ जेठ १५ स्थापना भएको आश्रम वीरगन्ज शाखाले हालसम्म २ सय ७६ जनाको उद्धार गरेको छ । ती मध्ये ९७ को पारीवारिक पुनर्मिलन गराइसकेको छ ।
आश्रममा संरक्षण लिइरहेका बेला ३४ को मृत्यु भएको छ भने ८७ जना उपचार पश्चात स्वेच्छाले आश्रमबाट बाहिरिएका छन् । सामुदायिक पुनस्र्थापना १ जनाको गरिएको छ भने हाल आश्रममा ५७ महिला, पुरुष र बालबालिका आश्रित छन् ।शंकर आचार्य/कान्तिपुर

