काठमाडौं,१९बैशाख : भारतको विदेश मन्त्रालयले केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रिसा साहको मृत्युबारे ओडिसा प्रहरीले गहन अनुसन्धान गरिरहेको बताएको छ। भारत सरकारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थीको निधनको घटनाले हामी निकै दुखी छौं । यस कठिन समयमा हामी शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’
घटनाको बारेमा थाहा पाएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग गरेको तथा ओडिशा प्रहरीले गहन अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई गम्भीरताका साथ लिने मन्त्रालयले जनाएको छ।
उक्त घटनाको बारेमा वास्तविक सूचना प्राप्त गर्न मन्त्रालय नेपाली अधिकारीहरू, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसँग नजिकको सम्पर्कमा रहेको जनाइएको छ। साभार:अन्नपूर्णपाेष्ट

