Madhes Khabar
खेलकुद

जीतपुरसिमरा गाेल्डकपकाे उपाधिका लागि मच्छिन्द्र र हिमालयन शेर्पा भिड्दै

सिमरा,२८चैत:१५ औं जीतपुरसिमरा गोल्डकप फुटबलको उपाधिका लागि शुक्रबार ए डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रङ्गशालाको फ्लड लाइटमा शुक्रबार राती हुने प्रतियोगिताको फाइनल भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन्।

मच्छिन्द्र दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । अघिल्लो बर्ष १४ औं संस्करणको फाइनलमा पुलिस क्लबसंग पराजित हुँदै उपविजेतामा सिमीत मच्छिन्द्रले यसपटक पुलिसलाई नै क्वाटरफाइनलमा हराउँदै मनोबल उच्च बनाएको छ भने चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्न लागेको हिमालयन शेर्पाले मच्छिन्द्रसंग यो बर्ष मोफसलका प्रतियोगितामा व्यहोरेको हारको बदला लिने लक्ष्य राखेको छ।

यसअघि सिमरा रङ्गशालामा १३ औं संस्करण र चौथो संस्करणको फाइनलमा उपविजेता बनेको हिमालयन शेर्पाले २०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको थियो ।

शुक्रबार सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा मच्छिन्द्र पहिलोपटक प्रतियोगिताको विजेता बन्ने लक्ष्य राखेर मैदानमा उत्रनेछ । मच्छिन्द्र २०८१ को चौथो उपाधि उचाल्दै राजधानी फर्कने योजनामा छ । यो बर्ष काठमाडौंमा सम्पन्न केपी ओली कप, इटहरी गोल्डकप र कपिलबस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको मच्छिन्द्र मोफसलको अन्तिम प्रतियोगिताबाट बर्षको सुखद अन्त्य गर्ने योजनामा छ ।

सिमरा रङ्गशालामा हिमालयन शेर्पा दोश्रोपटक प्रतियोगिताको उपाधि उचाल्ने दाउँमा हुनेछ भने हिमालयन शेर्पा बर्ष २०८१ कै पहिलो उपाधि जित्न चाहन्छ । यो बर्ष मोफसलका प्रतियोगितामा कमै सहभागिता जनाएको हिमालयन शेर्पा हालसम्म उपाधि विहीन छ ।

सिमरा रङ्गशालामा मच्छिन्द्र र हिमालयन शेर्पा यो बर्ष तेश्रोपटक भिड्दैछन् । यसअघि पाँचथर र कपिलबस्तु तिलौराकोट गोल्डकपमा दुबै खेल मच्छिन्द्रले जितेको थियो । सिमरा रङ्गशालामा मच्छिन्द्रसंग मोफसलका दुई प्रतियोगितामा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हिमालयन शेर्पा रहेको छ ।

 

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, मोफसलकै प्रतियोगितालाई लक्षित गरि टिम निर्माण गरिएको छ ।’ न्यौपानेले भने ।

हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले आफूहरु बर्षको पहिलो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताए । युवा खेलाडी सम्मिलित टोलीले जीतपुरसिमरा गोल्डकपको उपाधिसहित वर्ष २०८१ को अन्त्यका लागि आफूहरु उत्साहित रहेको बताए । ‘हाम्रा उर्जावान युवाशक्तिले यस वर्ष सिमरा रङ्गशालामा इतिहास रच्नेमा विश्वस्त छु ।’ प्रशिक्षक क्षेत्रीले भने ।

जारी प्रतियोगितामा मच्छिन्द्रले आफनो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई टाइव्रेकरमा ४–३ र सेमिफाइनलमा भरतपुरको हनामी बिएफसीलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

हिमालयन शेर्पाले भने क्वार्टरफाईनलमा फ्रेण्ड्स क्लबलाई १–० र सेमीफाइनलमा आयोजक सिमरालाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

सिमरा रङ्गशालामा बिहीबार बिहान आयाेजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा उपस्थित मच्छिन्द्रका कप्तान रेजिन सुब्बा र हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ दुबैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार रहेको बताए ।

हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले सिमराका आयोजकले गरेको व्यवस्थापन मोफसलकै उत्कृष्ट रहेको भन्दै आयोजकलाई धन्यबाद दिए । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले यसबर्ष छोटो समयको तयारीमा आयोजकले गरेको व्यवस्थापन प्रशंसनीय रहेको बताए ।

शुक्रबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा नेपाल सरकारका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमूख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । फाइनल खेलमा करिब २५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ ।

चारवर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रङ्गशालामा दर्शकको उपस्थिति उत्साहजनक रुपले बढेको आयोजक क्लबका अध्यक्ष लामाले बताए ।

Related posts

आईपीएल:आज पञ्जाब र दिल्ली तथा कोलकाता र हैदराबाद खेल्दै

MadhesKhabar

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपकाे फाइनलमा

MadhesKhabar

नेपाल-भारतबिचकाे क्रिकेट खेल हेर्न वीरगन्ज महानगरपालिकामा पनि बिदा

MadhesKhabar

Leave a Comment