Madhes Khabar
राजनीति

वीरगन्जमा राजावादीलाई खबरदारी गर्दै एमालेद्वारा गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

वीरगन्ज,२०चैतः नेकपा एमालेले गणतन्त्रको पक्षमा समर्थन जुटाउनका लागि भन्दै वीरगन्जमा बुधबार शक्ति प्रदर्शन गरेको छ ।राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा एमालेले वीरगन्जमा बृहत मोटरसाइकल जुलुश निकालेर शक्ति प्रदर्शन गरेको हो ।

बुधबार दिउँसो वीरगन्जको पावरहाउस चोकबाट सुरु भएको एमालेको मोटरसाइकल जुलुश मुर्ली,घण्टाघर,रेल्वेरोड, छपकैया पुगेर त्यहाँबाट आदर्शनगर, घडिअर्वा हुदैं घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजराले पछिल्लो समय राजावादीहरु सल्बलाउन थालेकाले उनिहरुलाई खबरदारी गर्न एमालेले सडकमा आएर आफ्नो शक्ति देखाउनु परेको बताए ।

पहिले राजतन्त्र हुदाँ दरबारमा गएर पूर्वराजाको हड्डी चुस्न पल्किएका केहि मुठ्ठीभर तत्वहरु अहिले राजतन्त्र फर्काउन सल्बलाउन थालेको भन्दै उनले भने,‘ पूर्वराजालाई म चेतावनी दिन चाहन्छु , सावधान होउ । यदि उक्साहटमा परेर तिमीले धेरै चुर्पफुर गर्न थाल्यौ भने अब नेपाली जनताले तिमिलाई सडकमा ल्याएर भकुण्डो खेलाए जस्तै खेलाउनेछन् ।’

प्रतिनिधी सभा सदस्यसमेत रहेका हजराले नेपाली जनता गणतन्त्रको पक्षमा रहेकोले पूर्वराजा वा राजावादीहरुको भुलभुलैयामा नपर्ने दाबीपनि गरे ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै एमाले केन्द्रिय कमिटी सल्लाहकार जालिम मियाँले पूर्वराजा वा राजवादीहरु समयमै सचेत नभए उनिहरुको हबिगत नराम्रो हुने चेतावनी दिए । मियाँले भने,‘अझपनि समय छ पूर्वराजा औकातमा बस । होइन भने नारायणहिटीबाट निर्मल निवासमा जनताले लखेटिसकेका छन् । अब फेरि त्यहाँबाट पनि अन्त लखेट्न दिन नआओस्।’

एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा भएको कोणसभालाई एमाले नेता एंव संविधानसभा सदस्य विचारी यादव लगायतकालेपनि सम्बोधन गरेको एमालेका जिल्ला सचिव महेश दासले जानकारी दिए ।

Related posts

सिरोहियालाई पक्राउ गर्नु स्वतन्त्र प्रेसमाथि प्रहार : लोसपा वरिष्ठ उपाध्यक्ष सोनल

MadhesKhabar

एमाले महाधिवेनमा मधेसबाट किसानहरुको व्यापक सहभागिता गराउने किसान महासंघको निर्णय

MadhesKhabar

वीरगन्ज १० मा जसपा-एमालेकाे चुनावी घरदैलाे

MadhesKhabar

Leave a Comment