काठमाडौं,२२बैशाखः जनता समाजवादी पार्टी९जसपा० नेपालको एकता महाधिवेशन जेठ २८ गतेदेखि जनकपुरमा हुँदैछ ।जसपाको अध्यक्षमा पुनः आफू नै सर्वसम्मतिले आउने उपेन्द्र यादवले योजना बनाइरहेको बेला उनीविरुद्ध उम्मेदवारी दिने तयारीमा जसपाकै कार्यकारिणी सदस्य इस्तियाक राई जुटेका छन् ।
नेता राईले यो कुराको जानकारी कार्यकारिणी समितिको बैठकमै अध्यक्ष यादवलाई जानकारी गराइसकेका छन् । यादव अमेरिका उड्नुअघि पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा नेता राईले यस पटकको महाधिवेशनमा आफूले पनि अध्यक्षमा उम्मेदवार दिने जानकारी गराएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार नेता राईले भनेका थिए, ‘अध्यक्षजी महाधिवेशन विधिसम्मत र प्रक्रियागत गराउनु होला, म पनि अध्यक्षको उम्मेदवार हुँ ।’ नेता राईले राखेको कुरामा अध्यक्ष यादवले त्यति बेला कुनै प्रतिक्रिया भने दिएनन् ।
उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका यादवनिकट नेताहरूले भने अध्यक्षमा उपेन्द्र यादवको विकल्प खोज्ने बेला नभएको बताइरहेका छन् । जसपाभित्र कोहीले पनि यादवलाई टक्कर दिन नसक्ने उनीहरूको भनाई छ ।
तर नेता इस्तियाक राई भन्छन्, ‘यो एकताको महाधिवेशनमा उपेन्द्रजीले पुस्तान्तरण गर्नुपर्छ । उहाँ २०५४ सालदेखि लगातार पार्टीको अध्यक्ष रहँदै आउनुभएको छ । अब उहाँले अरूलाई अवसर दिनुपर्छ । यदि उपेन्द्रजी सहमतिमा आउनुभएन भने म पनि अध्यक्षमा उम्मेदवारी दिन्छु । त्यसैको तयारी पनि गरिरहेको छु ।’
अध्यक्ष यादवले सहमतिमै अरूलाई अध्यक्ष बनाउनुहुन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै उनले भने, ‘म नै अध्यक्ष बन्नुपर्छ भने छैन, उहाँले आफूबाहेक अरू कसैलाई अध्यक्ष बनाए हुन्छ । किनभने अब पुस्तान्तरण गर्नु आवश्यक भइसकेको छ । २७ वर्षदेखि उहाँ अध्यक्ष भएर काम गर्नु भएको छ । अब त उहाँले पनि राजनीतिबाट विश्राम लिने बेला भएको छ । पार्टीमा अभिभावकीय भूमिकामा रहेर दिशा निर्देश गर्ने बेला भएको छ ।’
२०६३ सालदेखि अध्यक्ष यादवको नेतृत्वको पार्टी मधेसी जनअधिकार फोरम ९हालको जसपा० मा उनले काम गरेको १८ वर्ष भयो । अब आफूले पनि नेतृत्व लिने बेला भएको बताउँदै उनले यसमा पार्टीका अन्य नेताहरूले पनि साथ दिनेमा विश्वस्त रहेको बताए ।
तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल हालको जसपाको पहिलो महाधिवेशन २०६५ सालमा वीरगन्जमा भएको थियो । त्यस यता पार्टीको महाधिवेशन पनि हुन सकेको छैन । मधेसी जनअधिकार फोरमबाट संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी हुँदै जसपा नेपाल बनेको हो । मधेसी जनअधिकार फोरम पार्टीको रूपमा गठन भएको १८ वर्ष भइसके पनि हालसम्म एउटा महाधिवेशन मात्र भएको छ । एसके यादव/रातोपाटी

