सिमरा,१९चैत: नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सूचीमा नपरेका ९ खेलाडीसंग मधेस प्रदेश क्रिकेट संघले सम्झौता गरेको छ। संघले मधेस प्रदेश भित्रका आठ पुरुष र एक महिला खेलाडीसंग सम्झौता गरेको हो।
संघले पुरुषतर्फ पवन सर्राफ, हरिशंकर साह, अभिषेक तिवारी, रोहन विक, विशाल पटेल, अरनिको यादव, प्रदीप पासवान, रञ्जित कुमार र महिलातर्फ रोजी कडारीसंग सम्झौता गरेको हो। उनीहरू क्यानले आगामी वर्षका लागि गर्न लागेको कन्ट्रयाक्ट सूचीमा छैनन्।
सम्झौता भएका ९ खेलाडीलाई मधेस प्रदेश क्रिकेट संघले मासिक १० हजार रुपैयाँ उपलब्ध गराउनेछ। उक्त रकम प्रत्येक तीन महिनामा खेलाडीलाई उपलब्ध गराइने संघका कोषाध्यक्ष सुवास जयसवालले बताए।
क्यानले आगामी वर्षका लागि पाँच तह वर्गीकरण गर्दै ३३ जना पुरुष खेलाडीसंग सेन्ट्रल कन्ट्रयाक्ट गर्ने भएको छ। साभार:अन्नपूर्णपाेष्ट

