वीरगन्ज ,२० मंसिर : पाँच पटककाे विजेता ब्राजिल , कतारमा जारी विश्वकप फुटबल प्रतियाेगिताकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।
मंगलबार बिहान सकिएकाे खेलमा दक्षिण कोरियाविरुद्ध गोलको वर्षा नै गर्दै ब्राजिलले अन्तिम आठमा स्थान पक्का गरेकाे हाे ।ब्राजिलले दक्षिण काेरियालाई ४-१ गाेलकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे ।
ब्राजिललाई फराकिलो जित दिलाउन भिनिसियस, नेयमार, रिचार्लिसन र लुकास पकेइटाले गोल गरेका हुन् ।
खेलको सातौँ मिनेटमा नै भिनिसियसले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाए । खेलको १३औँ मिनेटमा नै ब्राजिलले पेनाल्टी पायो । पेनाल्टीबाट नेयमारले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाएका थिए।
खेलको २९औँ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–० गोलको अग्रता दिलाए । एकपछि अर्को गोल गरेको ब्राजिलविरुद्ध दक्षिण कोरियाले राम्रो खेल्न सकेन । सुरुमै दबाबमा आएको दक्षिण कोरियाले खेलको ३६औँ मिनेटमा अर्को गोल खान पुग्यो । लुकासले गोल गर्दै ब्राजिललाई पहिलो हाफसम्म ४–० को फराकिलो अग्रता दिलाए ।दक्षिण काेरियाले भने खेलकाे ७८ ओै मिनेटमा सान्तवना गाेल गरेकाे हाे ।क्वाटरफाइनलमा अब ब्राजिलले क्राेयशियाकाे सामना गर्नेछ ।

