वीरगन्ज,१८पुस:वीरगनणज र जनकपुरमा यही पुस २१ गतेदेखि हुने एलाइट (जय ट्रफी) कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।वीरगन्जको नारायणी क्रिकेट मैदान र जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई स्थानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।
उनका अनुसार ‘जय ट्रफी मेन्स एलाइट कप’ नामाकरण दिइएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेश गरि चार टिमको सहभागिता रहनेछ।
वीरगन्जमै राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुन लागेकोमा पर्सा क्रिकेट संघका अध्यक्ष सिंहले खुशी व्यक्त गरे। अब सबै किसिमका व्यवस्थापनमा कुनै पनि कमी नगरेर आगामी दिनमा अरु पनि प्रतियोगिता आयोजना गर्ने वातावरण निर्माणमा लागेको सिंहको भनाइ छ।
उनले भने, ‘क्यानका कारण आज वीरगन्जमै ठूलो प्रतियोगिता आयोजना गर्न सम्भव भएको छ। यसले यहाँका खेलप्रेमी र खेलाडीहरुलाई ठूलो सघाउ पुग्ने विश्वास लिएको छु।’
प्रतियोगिताका लागि नारायणी क्रिकेट मैदानमा पिच निर्माण र मैदानको स्तरोन्नती गरिएपनि दर्शक बस्ने व्यवस्था गर्न नसकिएको उनले बताए। बस्ने व्यवस्था नभए पनि मैदानबाहिर बसेर खेलाडीलाई प्रोत्साहन गर्न प्रशंसकहरूलाई आउन उनले अनुरोध गरे।
अर्को वर्ष भने कम्तीमा साढे दुई हजार दर्शक बस्नका लागि अस्थायी रुपमा भए पनि व्यवस्थापन गर्ने उनले बताए।
क्यानका पूर्वअध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको नाममा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई सहभागी गराउन लागिएको हो।
माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका लागि वीरगन्जको नारायणी क्रिकेट मैदानलाई स्तरोन्नती गरिएको छ। क्यान र वीरगन्ज महानगरपालिकाको समन्वयमा पिच निर्माणदेखि मैदानको स्तरोन्नती सम्भव भएको सिंहले बताए।

