Madhes Khabar
स्थानिय हेडलाइन

ठाकुरराममा राेकिएकाे मतगणना सुचारू गर्न पर्साका सम्पुर्ण राजनीतिक दलहरू सहमत

वीरगन्ज,११चैत:वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचनको मतगणना सुचारू गर्न पर्साका सम्पुर्ण राजनीतिक दलहरू एकमत भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा साेमबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे पहलमा बसेको सर्वदलीय बैठकमा ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना सुचारू हुनुपर्नेमा पर्साका सम्पुर्ण राजनीतिक दलहरू एक मत भएका हुन् ।

बैठकमा मतगणना सुचारू गर्ने,असन्तुष्ट विद्यार्थी संगठनहरुले भन्दै आएकाे फर्जी शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने गिरोहलाई कारबाही गर्न र मतपेटिकाको नम्बर परिवर्तनको विषयमा सत्यतथ्य सार्वजनिक गर्ने विषयमा सबै दलका नेताहरु सहमत भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरि पन्तले जानकारी दिए।मतपेटिकामा खसेको मतको स-सम्मान गणना हुनुपर्नेमा कसैको पनि फरक मत नरहेको पन्तले बताए ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ताले साेमबारकाे बैठकमा सहभागी दलका नेताहरुले आआफ्ना विद्यार्थी संगठनका नेता र उम्मेदवारहरुलाई मतगणना अगाडि बढाउनका लागि सहमत गराउने प्रतिबद्धता जनाएकाे बताए।अब मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी अर्यालले विद्यार्थी संगठनका नेता र उम्मेदवारहरुलाई बाेलाएर छलफल गर्ने सहमति पनि बैठकमा भएको उनले जानकारी दिए।

साेमबारकाे सर्वदलीय बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले फर्जी प्रमाणपत्रको आधारमा विद्यार्थी भर्नामा दोषी देखिएका जोकोहीलाई पनि कारबाही गर्न प्रशासन पछि नपर्ने बताए । उनले फर्जी प्रमाणपत्रको जराेसम्मै पुगेर निर्मम रूपमा कारबाही अगाडि बढाइने बताए ।

मतपेटिकाकाे सुरक्षाका बिषयमा उठेका प्रश्नमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले यस सम्बन्धमा कुनैपनि किसिमको गम्भीर त्रुटि नरहेको स्पष्ट पारे।क्याम्पसको सम्पुर्ण सिसिटिभी फुटेज पनि आफुहरुसंग सुरक्षित रहेको उनिहरुले बताए ।

बैठकमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले सबैले आआफ्नो भातृ संगठनहरूलाइ यस बिषयमा आफुहरूले प्रष्ट पार्ने बताए ।

बैठकमा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे,सहसचिव नवीन सिंह,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि पन्त, जसपाका जिल्ला अध्यक्ष सिंगासन साह तेली, नेतातबरेज अहमद, नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता, नेकपा एकीकृत समाजवादीका वीरगन्ज अध्यक्ष मनोज चौधरी लगायतकाकाे सहभागीता थियो ।

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भएको झण्डै एक हप्ता बित्दापनि चुनावको मतपरिणाम आउन सकेको छैन ।

ठाकुरराम क्याम्पसमा १६ बर्षपछि गत मंगलबार स्ववियु निर्वाचन भएको थियो । मंगलबार मतदानपछि बुधबार साँझदेखि मतगणना सुरु पनि भयो ।तर मतगणना चलिरहदाँ एउटा मतपेटिकाको सिल नम्बर मुचुल्का उठाँउदा लगाइएको सिल नम्बर भन्दा फरक परेपछि विवाद भई बिहीबार दिउँसोदेखि मतगणना अवरुद्ध छ । अवरुद्ध मतगणना अहिलेसम्मपनि सुचारु नुहदाँ गत मंगलबार भएको निर्वाचनको नतिजा आउन नसकेको हो ।

 

बिहीबार दिउँसो मतगणना अवरुद्ध हुनु अघि करिब १ हजार ४ सय मत गनिसक्दा निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार, सभापति पदमा नेविसंघबाट विद्रोह गरेर नेपाल विद्यार्थी समुह नामबाट उम्मेदवार बनेका राज कुमार यादव ४ सय २० मतका साथ अग्रस्थानमा थिए । यस्तै नेविसंघका उम्मेदवार विकास मण्डल धानुक २६१ मतका साथ दोस्रो,समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादवले २२१ म्तका साथ तेस्रो , सुधिर पटेल समुहका उम्मेदवार कमलेश यादवले २०४ मतका साथ चौथो र अनेरास्ववियुका पवन यादव १५० मतका साथ पाँचौ स्थानमा थिए ।

मतपेटिकाको सिल नम्बर फरक परेपछि समाजवादी विद्यार्थी युनियन,अनेरास्ववियु, अखिल क्रान्तिकारी,स्वतन्त्र विद्यार्थी समुह,जय नेपाल विद्यार्थी संघ लगायतका १० संगठनले विरोध प्रदर्शन गर्नथालेपछि बिहीबार राति निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगीत गरेको थियो ।

असन्तुष्ट १० विद्यार्थी संगठनहरुले मतदानमा फर्जि मत खसालिएको , गणनामापनि धाँधली गरिएको , मतपेटिकाकै सिल नम्बर फरक भेटिएकोले चैत ५ मा भएको निर्वाचन रद्ध गरेर पुन अर्को निर्वाचन गराउनुपर्ने माग गर्दै आएका छन् । उनिहरुले शुक्रबारदेखि वीरगन्जमा विरोध जुलुशपनि प्रदर्शन गर्दै आएका छन् ।

यता नेपाल विद्यार्थी समुह,नेविसंघ लगायतकाा संगठनहरुलेपनि स्थगीत मतगणना सुचारु हुनुपर्ने माग राखेर प्रदर्शन गर्दै आइरहेका छन् ।

 

Related posts

पर्साको ग्रामीण भेगबाट विद्युत चोरेर प्रयोग गर्ने १२ जना पक्राउ

MadhesKhabar

पर्सा ४ मा रिजालको लहर ,नेकपा एसका नेता सहित ५०० जना काँग्रेसमा प्रवेश

MadhesKhabar

नारायणी अस्पतालका लागि १ अर्बको प्याकेज बजेटमा समावेश गराएको छु :स्वास्थ्यमन्त्री यादव

MadhesKhabar

Leave a Comment