Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा अझैपनि हैजाको जोखिम कायमै, खोप कार्यक्रम चलाइने

फाइल तस्बिर ।

वीरगन्ज,२३असोजःडेढ महिनाअघि वीरगन्जमा देखिएको हैजाको प्रकोप अहिले स्थिर विन्दुमा रहेको छ । वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार महानगरमा हालसम्म हैजा संक्रमितको संख्या २ सय २७ पुगेको छ ।

असोज ११ सम्म पनि महानगरमा हैजा संक्रमितको संख्या यति नै थियो । सबै संक्रमित उपचारपछि घर फर्किसकेका छन् । यस अवधिमा वीरगन्जका विभिन्न अस्पतालका झाडापखाला र हैजाका गरी १ हजार ६ सय ४६ बिरामी आएकामा १ हजार ६ सय ४१ उपचारपछि घर फर्किसकेका छन् । अहिले अस्पतालमा झाडापखालाका ५ जना बिरामी मात्रै उपचाररत छन् ।

वीरगन्जबाहेक पोखरिया अस्पतालमा १८ हैजा संक्रमित उपचारका लागि आएका थिए । त्यहाँ पनि संक्रमितको संख्या थपिएको छैन ।

सुरुवाती दिनमा स्थानीय प्रशासनले हैजाबाट वीरगन्जमा कसैको पनि मृत्यु नभएको दाबी गरेको थियो । त्यसैताका वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा क्रमशः एक महिला र पुरुषको हैजासँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु भयो । प्रयोगशाला परीक्षणबिनै उनीहरुको अन्तिम संस्कार गरियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा हैजाका कारणले तीन जनाको मृत्यु भएको जानकारी प्रतिनिधिसभालाई गराएका थिए । तर वीरगन्जका कुनै पनि सरकारी निकायले हालसम्म हैजाबाट एक जनाको पनि मृत्यु भएको आधिकारीक पुष्टि गरेका छैनन् ।

हैजाको प्रकोप फैलिएसँगै यसको स्रोतबारे विभिन्न अड्कलबाजी पनि गरिएको थियो । अधिकांशले खानेपानी संस्थानको पानी वा भर्खरै गाडिएका डिप बोरिङका पानीमा संक्रमण रहेको प्रारम्भिक अनुमान गरे । तर अनुमानविपरीत कुनै पनि निकायबाट गरिएको प्रयोगशाला परीक्षणले पानीमा हैजाको किटाणु फेला परेन ।

वीरगन्ज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको संक्रमित स्थलको पानी परीक्षणमा झाडापखाला फैलाउने किटाणु भेटिएन । हैजा प्रभावित महानगरको वडा नंबर १०, ११ र १२ का सात स्थानका धाराबाट लिइएका सबै नमुनाको प्रतिवेदन ‘नेगेटिभ’ आएको थियो । महानगरले हैजा प्रभावित वडा नंबर १०, ११ र १२ का विभिन्न सात स्थानका धाराबाट पानीको नमुना संकलन गरी परीक्षण गरेको थियो । तीमध्ये तीनवटा बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट नमुना संकलन गरेर परीक्षण गरिएकामा सबै सात नमुनामा झाडापखाला फैलाउने इकोली किटाणु फेला परेन ।

महानगरको वडा नंबर १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालामा उक्त परीक्षण गरिएको थियो ।

डेढ महिनाअघि नै संघीय ढल निकास तथा व्यवस्थापन विभाग मातहतको जनकपुर प्रादेशिक कार्यालयले वीरगन्जको विभिन्न स्थानबाट संस्थानको पानीको नमुना लगेर आफ्नो प्रयोगशालामा परीक्षण गर्दा संस्थानको पानीमा हैजाको संक्रमण भेटिएन ।

जेन जी आन्दोलनको २ दिनअघि सोही विभागले विश्व स्वास्थ्य संगठन र युनिसेफका विज्ञसहितको टोली ल्याएर वीरगन्जको विभिन्न स्थानका खानेपानीको प्रयोगशाला परीक्षण गर्दा पनि हैजाको जीवाणु कतैको पानीमा पनि भेटिएन ।

जोखिम अझै टरेको छैन

नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंह सातायता अस्पतालका दैनिक ४/५ जना झाडापखालाका बिरामी आइरहेको बताउँछन् । पर्सा र बारामा हालै ठूलो वर्षा भएकाले केही दिनपछि फेरि हैजाको संक्रमण देखा पर्न सक्ने जोखिम भने रहेको डा सिंह बताउछन् । ‘भारी वर्षापछि नालाहरुबाट घरघरमा गएको खानेपानीको पाइपबाट हैजाको संक्रमण फैलिन सक्ने जोखिम टरिसकेको छैन,’ उनले भने, ‘आउँदो तीन–चार दिनसम्म हैजा संक्रमण पुनः नदेखिए भने मात्र ढुक्क हुन सकिन्छ ।’

भ्याक्सिनेसन कार्यक्रम चलाइने

विश्व स्वास्थ्य संगठनले पर्सा र बारामा हैजा रोकथामका लागि भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । डा सिंहका अनुसार हैजा संक्रमण नियन्त्रणका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

‘सुरुमा चिकित्सकहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘त्यसपछि स्थानीय तहहरुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेपछि भ्याक्सिनेसन कार्यक्रम सुरु गरिनेछ ।’शंकर आचार्य /कान्तिपुर

Related posts

रवि प्रबन्ध निर्देशक रहेकै बेला वीरगन्जको सहकारीबाट पनि गोर्खा मिडियामा साढे ८ करोड अपचलन

MadhesKhabar

गठबन्धनमा लोसपाले ८ सिट लिने सहमति , पर्सा १ बारे छलफल जारी

MadhesKhabar

सिर्सिया नदीमा छठसम्म मात्रै प्रदुषण नगर्ने उद्योगीहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment