
तस्वीर : क्यानकाठमाडौं,२९फागुन :प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो हार व्यहोरेको छ । जारी प्रतियोगितामा बिहीबार आफ्नो दोस्रो खेलमा मधेस सशस्त्र प्रहरीको एपीएफ क्लबसंग २ विकेटले पराजित गरेको छ। यो एपीएफको लगातार दोस्रो जित हो भने मधेश प्रदेशको पहिलो हार हो।यसअघि गत मंगलबार भएको आफ्नो पहिलो खेलमा मधेसले कोशी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले हराएको थियो ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेसले दिएको १६९ रनको लक्ष्य पछ्याएको एपीएफले ३६.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। एपीएफका लागि समित महर्जनले सर्वाधिक ३५ रन, ओपनर आसिफ शेखले ३४ रन र ओपनर लोकेश बमले १८ रन। कप्तान रोहित पौडेलले ११ रन बनाए। मधेसका लागि कमल गुप्ताले सर्वाधिक ४ विकेट लिए। प्रदिप पासवानले २ तथा रुपेश सिंह र हरिशंकर साहले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेसले ४०.४ ओभरमा अलआउट हुदैं १६८ रन बनाएको थियो। मधेसका लागि पवन सरार्फले सर्वाधिक ७७ रन बनाए। ओपनर कप्तान अनिल साहले १७ र मयन यादवले ११ रन ,रुपेश सिंह र प्रदीप पासवानले समान १०÷१० रन बनाए। बलिङतर्फ एपीएफका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। भुवन कार्की र कप्तान रोहित पौडेलले समान २÷२ विकेट लिए। अभिषेक गौतमले १ विकेट लिए।

