महोत्तरी,२८फागुनःनेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतो महोत्तरी जिल्लाको ७२ वर्षको पत्रकारिता इतिहासमा आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति बनेका छन् । पूर्वाञ्चल विश्वविद्यालयले मंगलवार आयोजना गरेको दीक्षान्त समारोहमा पत्रकार महतो औपचारिक रूपमा स्नातकोत्तरको पदवीबाट दीक्षित भएका हुन् ।
अन्नपूर्ण पोष्ट र द पब्लिक टुडे डटकमका कार्यरत महतोले पत्रकारितामा लामो अनुभव हासिल गर्दै शैक्षिक योग्यता पनि उच्च बनाउने प्रेरणादायी कदम चालेका छन् । उनले स्नातकोत्तर अध्ययन सम्पन्न गरेर महोत्तरीका पत्रकारहरूलाई थप शैक्षिक प्रेरणा प्रदान गरेको प्रेस चौतारी महोत्तरी शाखाका सचिव अमृत कुमार महतो बताउँछन् ।
महोत्तरीलगायत मधेस प्रदेशमा पत्रकारिता अध्ययनलाई प्रवद्र्धन गर्न महतोको यो उपलब्धि प्रेरणादायी रहेको उनको बुझाइ छ । दीक्षित भएपछि महतोले आफूलाई अध्ययनशील पत्रकारका रूपमा स्थापित गर्दै पत्रकारितामा व्यावसायिकता, अनुसन्धान र नैतिकताको प्रवद्र्धन गर्न शैक्षिक ज्ञानको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । उनले सञ्चार क्षेत्रको नवीनतम प्रविधि, तथ्यपरक रिपोर्टिङ र विश्वसनीय समाचार उत्पादनका लागि उच्च अध्ययन आवश्यक रहेको औल्याए ।
उनले आफ्नो १५ बर्से पत्रकारिता यात्रामा नयाँ उचाइ हासिल गरेको प्रतिक्रिया दिएका छन् । यसअघि गत मंसिरमा नेपाल पत्रकार महासंघको सात दशक लामो इतिहासमा महोत्तरी जिल्लाबाट पहिलो केन्द्रीय सदस्य बनेका पत्रकार महतोले अब पत्रकारिता र समाजसेवामा आफ्नो योगदानलाई अझ सशक्त बनाउने संकल्प गरेका छन् ।
‘शिक्षा त्यो हतियार हो जसले संसारलाई रूपान्तरण गर्न सक्छ । पत्रकारिता र शिक्षा सँगसँगै कडा मेहनत गर्न सक्नु ठूलो उपलब्धि हो । २० घण्टा लामो काम र अध्ययनको मिलनले यो सपना साकार पार्न मद्दत ग¥यो । निरन्तरको प्रयास र गुरुजनको सहयोग, साथीहरूको हौसला मेरो लागि अक्सिजनको काम ग¥यो,’ खुशी साट्दै समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘मैले प्राप्त गरेको यो सफलता राष्ट्र र जनताको हितमा निरन्तर लेख्न र बोल्नमा समर्पित हुनेछ ।’
उनको स्नातकोत्तर अध्ययनले जिल्लाका भावी पत्रकारहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्ने विश्वास गरिएको छ । सञ्चार क्षेत्रमा शिक्षाको भूमिका महत्वपूर्ण हुने भएकाले महतोको यो उपलब्धिले समग्र पत्रकारिता क्षेत्रलाई लाभ पुग्ने महोत्तरीका अग्रज पत्रकारहरू बताउँछन् ।साभार :द पब्लिक टुडे डटकम

