काठमाडौं,२३फागुनः भारतीय राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सुनिल क्षेत्रीले सन्यासको घोषणा गरेको एक वर्ष नबिल्दै फेरि राष्ट्रिय टिममा फर्किएका छन्। अखिल भारतीय फुटबल संघ(एआइएफएफ)ले सामाजिक सञ्जालमार्फत क्षेत्री राष्ट्रिय टिममा फर्कन लागेको जानकारी दिएको हो।
सामाजिक सञ्जालमा क्षेत्री एसिया कप क्वालिफार्यसका लागि भारतीय राष्ट्रिय टिममा फर्किएको बताइएको छ। ‘कुनै कथाहरु निरन्तरताका लागि बनेका हुनछन्।’ भन्दै भारतीय फुटबल संघले क्षेत्रीको फोटो पोष्ट गरेको छ।
प्रशिक्षक मानोलो मारक्वेजले क्षेत्रीको अनुमति लिएर नै उनलाई राष्ट्रिय टिममा बोलाइएको खुलाएका छन्। उनले भनेका छन्, ‘एसिया कप हाम्रो लागि निकै महत्वपूर्ण छ। हामीले प्रतियोगिताको महत्वलाई मध्यनजर गर्दै सुनिल क्षेत्रीसँग कुरा ग¥यो। उनीले सहमति जनाएका कारण हामीले उनलाई टिममा समावेश गरेका छन्।’ यस अगाडि उनले गत जुनमा सन्न्यास लिएको घोषणा गरेका थिए।
भारतीय टिमका लागि १५० अन्तर्राष्ट्रिय खेल खेलिसकेका क्षेत्रीले ९४ गोल गरेका छन्। उनी अर्जुना, खेलरत्न तथा पद्मश्रीजस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने खेलाडी हुन्। पुरुष फुटबलमा क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी र इरानका अली दाईपछि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी क्षेत्री हुन् ।
सन् २००२ मा मोहन बगानबाट आफ्नो व्यवसायिक यात्रा सुरू गरेका क्षेत्रीले भारतलाई २००७, २००९, २०१२ नेहरू कप तथा २०११, २०१५, २०२१, २०२३ का साफ च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २००८ को एएफसी च्यालेन्ज कप जिताउँदै भारतलाई २७ वर्षपछि पहिलो पटक एएफसी एसियन कपमा उनले छनोट गराएका थिए। उनले सन् २००५ मा पाकिस्तानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। सन् २०११ को साफ च्याम्पियनसिपमा ७ गोल गर्दै आइएम विजयनको रेकर्ड तोड्दै उनि भारतको सर्वाधिक गोलकर्ता बनेका थिए।साभार : अन्नपूर्णपोष्ट

