Madhes Khabar
खेलकुद

जीतपुरसिमरा गाेल्डकप : एपिएफ र फ्रेण्ड्सबिचकाे खेल हावाहुरीका कारण स्थगित

बारा,२९चैत:बाराकाे सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटको अन्तिम क्वाटर फाइनल खेल तीव्र हावाहुरीका कारण स्थगित भएको छ ।

बिहीबार राती सिमरा रंगशालामा सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ क्लब र फ्रेण्डस क्लब बिच खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि अफिसियलले खेल स्थगित गर्ने निर्णय लिएका हुन् ।

दोश्रो हाफको १३ औं मिनटपछि रेफ्रि उमेश विंडारीले खेल रोक्ने संकेत गरेका थिए । सिमरा रंगशालाको फ्लड लाइटमा खेल चलिरहँदा एक्कासी तिव्र गतिमा हावाहुरी आएको थियो ।रंगशालामा राखिएको होडिङ बोर्ड उडेर लाग्दा एकजना दर्शक घाइते समेत भएका छन् ।

५८ औं मिनटपछिको खेल शुक्रबार विहान ८ः३० बजेपछि शुरु हुनेछ । स्थगित हुनुअघिको खेल निकै प्रतिस्पर्धाात्मक बनेको थियो । मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको एपिएफ र सिधै क्वाटर फाइनल खेल्न सिमरा रङ्गशालामा उत्रिएको फ्रेण्ड्स क्लब दुबैले थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।

खेलको ११ औं मिनटमा एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । शरण बस्नेतले पेनाल्टी बक्स भित्र दिएको उत्कृष्ट पासलाई बुद्धिमान राईले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले सहज रुपमा बचाउ गरे ।

खेलको १३ औं मिनटमा फ्रेण्ड्सका साइमन लिम्बुले वन भर्सेस वनको स्थिती सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्स बाहिर पाएको बललाई अघि बढाएपनि साइमनले पोष्टको दिशा दिन नसक्दा एपिएफका डिफेण्डरले सुमन श्रेष्ठले क्लिएर गर्ने मौका पाए ।

त्यस लगतै खेलको १५ औं मिनटमा फ्रेण्ड्सले अर्को सुन्दर मौका गुमायो । कुशल देउवाले पेनाल्टी एरियामा निकालेको पासमा एन्जल महर्जनको प्रहार क्रसबार माथि गयो ।

खेलको १८ औं मिनटमा एपिएफका अनिश महर्जनले पेनाल्टी बक्स भित्रै पाएको अवसर खेर फाले । प्रदिप लामाको क्रसमा अनिशको प्रहार फ्रेण्ड्सका गोलरक्षकले पञ्च गरेर जोगाए ।

खेलको २६ औं मिनटमा एपिएफको अर्को सशक्त प्रहार फ्रेण्ड्सका गोलरक्षक अभिषेकले बचाउ गरे । बिके तामाङको कट ब्याकमा पेनाल्टी एरियाबाट प्रदिप लामाको सशक्त प्रहार फ्रेण्ड्सका गोलरक्षक अभिषेकले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ४२ औं मिनटमा फ्रेण्ड्सका एन्जल महर्जनको प्रहार क्रसबारबाट रिबाउण्ड भयो । साइमन लिम्बुको कर्नर बलमा प्रशान्त अवस्थीको हेडिङ पासलाई एन्जलले शसक्त प्रहार गरेका थिए । रिबाउण्ड बलमा दिपेश घलेको अर्को प्रहार क्रसबारबाट माथि गयो ।

Related posts

भारतलाई हराएर च्याम्पियन बनेका ढाँटलाई नगद १ लाख प्रदान गर्ने सखुवा प्रसाैनीका अध्यक्षकाे घाेषणा

MadhesKhabar

बेङखाडी युवा क्लब परवानीपुर गाेल्डकप फुटबलकाे सेमिफाइनलमा

MadhesKhabar

एनआई कप क्रिकेट : नेशनल एकेडेमी र ज्ञानदा एकेडेमीको जीत

MadhesKhabar

Leave a Comment