वीरगन्ज,७ माघ : वीरगन्जमा जारी नेशनल ईन्फोटेक (एनआई) कप क्रिकेटमा आइतबार भएका खेलमा नेशनल एकेडेमी र ज्ञानदा एकेडेमी विजयी भएका छन् ।
वीरगन्जको नारायणी क्रिकेट रंगशालामा आइतबार भएको दोश्रो खेलमा नेशनल एकेडेमीले अल्पाइन स्कुललाई १० रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ् गरेको नेशनल एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११६ रनको योगफल बनाएको थियो ।नेशनल एकेडेमीका अर्जुन यादव २८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४४ रन बनाउँदै ६ रनले अर्धशतक बनाउनबाट चुके । रोहित श्रीवास्तवले ४३ बलमा ३५ रन जोडे ।
अल्पाइन स्कुलका नवराज अधिकारीले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । रन्जित चौहानले ४ ओभरमा ११ रन खर्चिदैँ १ विकेट लिए भने रामप्रित चौधरीले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए ।
११७ रनको जवाफी लक्ष्य पछ्याएको अल्पाईन स्कुल १०६ रनमै समेटियो । अल्पाईनका मनिष पटेलले ४९ बलमा ४३ रन जोडे । अफ्रोज अन्सारीले २० रन जोड्दा इस्रार अहमदले १६ रन बनाए ।
अल्पाइनलाई लक्ष्य भेटाउनबाट रोक्नका लागि नेशनल एकेडेमीका बिरेन्द्र साह कानुले ३ विकेट लिए भने शनी कुमार कलवारले २ विकेट लिए ।
यस्तै आइतबार नै भएको पहिलो खेलमा सेन्जेभियर्स स्कुललाई पराजित गर्दै ज्ञानदा एकेडेमी विजयी भएको छ ।उक्त खेलमा ज्ञानदा एकेडेमीले सेन्जेभियर्स स्कुललाई ७९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ् गरेको ज्ञानदा एकेडेमीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल तयार पारेको थियो । ज्ञानदाका धिरज पटेल ३ रनले अर्धशतक बनाउनबाट चुके । उनले ३५ बलमा ४ चौका र २ छक्काको मद्धतमा ४७ रन बनाए । प्रवेज आलमले २२ रन जोड्दा कन्हैया कुमार साहले २० रन बनाए ।
सेन्जेभियर्स स्कुलका हिमान्शु गुप्ता, सन्देश कुमार पटेल र राजु महतोले २/२ विकेट लिए । १३९ रनको लक्ष्य सेन्जेभियर्सले भेटाउन सकेन । सेन्जेभियर्स १७.३ ओभरमा सबै बिकेट गुमाउँदै ५९ रनमै समेटियो ।
सेन्जेभियर्सका हिमान्शु गुप्ताले १४ रन बनाए भने सन्देश कुमार पटेलले १२ रन जोडे । सेन्जेभियर्सलाई सस्तैमा समेट्न ज्ञानदा एकेडेमीका इम्रोज आलमले ४ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिए । प्रवेज आलमले ३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए ।

