Madhes Khabar
अर्थतन्‍त्र

बाराको म्यागनस फर्माले थप्यो लगानी,नेजल ड्रपको नेपालमै पहिलोपल्ट उत्पादन शुरु

वीरगन्ज,२०फागुनःबाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा विगत १६ वर्षदेखि सञ्चालनमा रहेको म्यागनस फर्मा प्रालिले लगानी विस्तार गरेको छ । उद्योगले केही महिना यता १ अर्ब रुपैयाँ बराबरको लगानी थप्दै उत्पादन विस्तार गरेको हो ।

उद्योगका प्रबन्ध निर्देशक सुदिपप्रकाश मास्केले दुई वर्षदेखि उद्योगले भेनेजोएला र मरिससमा औषधि निकासी गरिरहेको बताए । उनले हरेकवर्ष ती दुबै देशमा करिब १–१ करोडको औषधि निकासी भइरहेको जनाए ।नेपालमा खपत हुने कुल औषधिको १० प्रतिशत मात्रै अर्थात त्यो पनि ‘नन इन्जेक्टेबल–ओरल सोलिड’ औषधि प्रायः उत्पादन हुने गरेको र बाँकी ९० प्रतिशत आषधि भारत र अन्य मुलुकबाट आयात हुदाँ त्यो आयातलाई प्रतिस्थापन गर्न उद्योग व्यवस्थापन समुहले इन्जेक्टेबल प्लान्ट लगाएको उनले बताए ।

मास्केका अनुसार, नबिल बैंकसंग ऋण लिएर उद्योगले अमेरिकन र भारतीय संयुक्त प्रविधिको आधुनिक प्लान्टको लागि विभिन्न औषधि उत्पादन गर्ने मेशिन भित्रियाएर त्यसको सफल परिक्षणसमेत गरिसकेको छ ।

मंगलबार साँझ वीरगन्जको होटल भिस्वामा पत्रकार सम्मेलन गर्दै उद्योग व्यवस्थापकले लागानी विस्तार र नयाँ प्लान्टबारे जानकारी गराएको हो ।३ विघा क्षेत्रफलमा फैलिएको उद्योगमा करिब २ विघामा उद्योगको भौतिक संरचना छ । नयाँ प्लान्टसंगै औषधि भण्डारणको लागि वातानुकुलित ७ हजार ८८६ वर्गफिट क्षेत्रफल बराबरको आधुनिक वेयरहाउस पनि निर्माण गरिएको उद्योगका सञ्चालक समितिका अध्यक्ष सन्दिप तुल्स्यानले जानकारी गराए । उनका अनुसार औषधि संवेदनशील वस्तु भएकोले सुविधासम्पन्न गोदाम भए आषधिको गुणस्तरलाई कायम राख्न सहज हुने उनले बताए ।

उनले गत आर्थिक बर्षमा उद्योगले करिब १ अर्ब १६ करोड बराबरको कारोबार गरेकोमा चालू आर्थिक बर्ष २०८१/८२ मा उद्योगले १ अर्ब ४० करोड बराबरको कारोबार गर्ने लक्ष्य राखेको जानकारी गराए । चालू आर्थिक वर्षमा कारोबार बढाएर मुलुकमै उत्कृष्ट ५ औषधि उद्योगमध्ये भित्र पर्ने आफुहरुको नीति रहेको उनले बताए ।

सन् २००९ देखि बजारमा औषधि बिक्री वितरण शुरु गरेको उद्योगमा अहिलेको लगानी थपिएसंगै उद्योगको कुल पूँजी करिब २५ करोडको हाराहारीमा पुगेको उद्योगका आर्थिक निर्देशक विनित लोहियाले जानकारी दिए । हाल उद्योगमा करिब ३ सयभन्दा बढि कामदारलाई प्रत्यक्ष रोजगारी दिइएको पनि उनले बताए ।

उद्योगमा हालै थपिएको नयाँ प्लान्टले विभिन्न रोगको उपचारमा आवश्यक पर्ने इन्जेक्टिवल औषधिको भाइल र एम्पुल उत्पादनका साथै आँखा र कानमा प्रयोग हुने ड्रप,नाकमा लगाउने नेजल ड्रपसमेत उत्पादन गर्ने लक्ष्य राखेको उद्योगका प्रबन्ध निर्देशक मास्केले बताए। नेजल ड्रप नेपालमै पहिलो पटक उत्पादन भइरहेको र बैशाखाको पहिला साता बजारमा आइसक्ने हिसाबले काम भइरहेको उनले सुनाए । ‘करिब १ सय वटा प्रडक्ट उत्पादन गर्ने सकिने मेशिन लगाएको छौ,तर औषधि व्यवस्था विभागबाट प्रारम्भिक चरणमा करिब २० वटा ब्रान्डका लागि इजाजत पाइसकेका छौ,अहिले ती प्रडक्ट उत्पादन हुन्छ,विस्तारै अन्य उत्पादन पनि हुनेछ,’ मास्केले भने ।

मुटु,छाती,मधुमेह,मानसिक रोगको ओरल सोलिड(टयाब,क्याप्सुल)लगायत औषधि उत्पादन गर्दै आएको उद्योगको नयाँ उत्पादनले नेपालकै औषधि उद्योगको क्षेत्रमा आर्थिक क्रान्ति समेत ल्याउने दाबी उनले गरे ।

Related posts

वीरगन्जका उद्योगी–व्यवसायी भन्छन् : उद्योगमन्त्रीमा रिजाललाई पाउनु ‘माइलस्टोन’

MadhesKhabar

नेपालमा वैदेशीक सहायतामा आउने बजेट दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment