
वीरगन्ज, २६ जेष्ठ : नेपालमा आउने वैदेशीक सहायता र सहयोगको रकम सदुपयोग भन्दापनि दुरुपयोग बढि हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।वीरगन्जमा शुक्रबार ‘सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडरालिज्म’ नामक संस्थाले आयोजना गरेको स्थानीय विकासमा विदेशी सहायताको गतिशिलता विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुनन् ।
उनिहरुले नेपालमा वैदेशीक सहायता र सहयोग दिने र लिने दुवै पक्षको सफा नियत र इमान्दिरता नभएका कारण त्यसबाट लक्षित जनताले लाभ लिन नसकेको पनि बताए ।उनिहरुले वैदेशीक सहायता देशको नीति निर्माण तहमा बसेका राजनीतिक नेतृत्व र कार्यान्वयन तहका केहि समिति व्याक्तिहरुको कमाइ खाने भाँडो मात्र बनेको टिप्पणीपनि गरे ।
कार्यक्रममा अर्थशाास्त्री एंव प्राध्यापक डाक्टर इन्दुशंकर मिश्राले नेपालमा आउने वैदेशीक सहायता र ऋणको कार्यान्वय तहमा अनुगमन र निगरानी हुन नसक्दा दुरुपयोग बढि हुने गरेको बताए । मिश्राले भने,‘ अनुगमन र निगरानी त हुन्छ तर फिल्डमा गएर होइन होटलमा बसेर , सेमिनार गरेर गर्ने गरिन्छ ।
नेपालमा सन् १९८१ सम्म वैदेशीक सहयोग बढि र वैदेशीक ऋऋण कम आउने गरेकोमा त्यसपछि यता भने ठिक उल्टो अर्थात सहयोग कम र ऋण बढि लिने काम भइरहेको उनले सुनाए ।सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको उदाहारण दिदैं मिश्राले भने,‘ यसपालिको बजेटमा वैदेशीक सहायता र ऋणबाट गरि २ खर्ब २० अर्ब रुपैयाँ जुटाउने भनिएको छ , त्यसमा सहायता करिब ४९ अर्बमात्रै छ , ऋण भने झण्डै १ खर्ब ७० अर्ब जति छ ।उनले नेपालले वैदेशीक सहायता र ऋण विकास निर्माणका लागि भन्दापनि खानका लागि मात्र लिने गरिएको टिप्पणी पनि गरे ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी अशोकराज ठाकुरले वैदेशीक सहायता र ऋण दिने र लिने दुवैको नियत स्पष्ट नभएको बताए । ठाकुरले भने,‘ वैदेशीक सहायताबाट आएको बजेटबाट एउटा प्रोजेक्ट सुरु हुन्छ , त्यो अधुरै रहेका बेला फेरि अर्को प्रोजेक्टका लागि बजेट मागेर ल्याइन्छ , यो नै बिडम्बना हो ।वैदेशीक सहायता र ऋण दिने र लिने दुवै पक्षको नियत सफा भएमात्र यसबाट दीर्घकालीन लाभ लिन सकिने अन्न्यथा यो केहि सिमिति व्याक्तिहरुका लागि कमाउने खाने भाँडो मात्रै बनिरहने धारणा उनले राखे ।
उपप्राध्यापक डाक्टर सुष्मा तिवारी द्विवेदीले नेपालका लागि वैदेशीक सहायता अति आवश्यक भएपनि त्यसको प्रभावकारी निगरानी नहुदाँ आएको बजेटको सहि सदुपयोग हुन नसकेको बताइन् । उनले भनिन् ,‘ जहाँ आवश्यक हुन्छ त्यहा वैदेशीक सहायतको बजेट आउँदैन , जहाँ आवश्यक नै हुदैन त्यहा बजेट ल्याएर खर्च गरेर दुरुपयोग गरिन्छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले वैदेशीक सहयोग र ऋणको सहि सदुपयोग गर्ने जिम्मेवारी राज्यको भएको बताए । तर पछिल्लो समय सहयोग भन्दापनि ऋण लिने प्रवृति बढि देखिएकाले यो चिन्ताको विषय बनेको उनले बताए ।
नेपाल औषधी व्यवसायी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवालले वैदेशीक सहायताको दुरुपयोग बढि भइरहेको भन्दै राजनीतिक र सामाजिक चिन्तन परिवर्तन नभएसम्म यो समस्या आइरहने बताए ।
नेपाल रेडक्रस सोसाइटीका मधेस प्रदेश सभापति फुल महम्मद मियाँले नेपाल कृषि प्रधानमुलुक र यहाँका ६५ प्रतिशत जनता कृषि पेशमा निर्भर रहेको भएपनि वैदेशीक सहायता र ऋणहरु कृषि क्षेत्रमा कम आउने गरेको गुनासो गरे । कृषि क्षेत्रमा वैदेशीक सहायता बढ्न सक्ने स्वदेशमै रोजगारी सृजना भएर युवाहरुको विदेश पलयान रोक्न सकिने उनले बताए ।
सञ्चारकर्मी अनिल तिवारीले दातृ राष्ट्रको नियत र चाहना बुझेर मात्रै नेपालले वैदेशीक सहायता र ऋण लिनुपर्ने सुझाव दिए ।नेपाली कांग्रेसका युवा नेता सरोज चौरसियाले भने वैदेशीक सहायता र ऋणका सन्दर्भमा नकरात्मक धारणा बढि पाइएको भएपनि अवस्थामा भने त्यस्तो नभएको धारणा राखे । उनले भने,‘ स्थानीय तह जनप्रतिनिधी विहिन भएका बेला र कोभिड महामारीका बेला यदि विदेशले सहायता र सहयोग नगरिदिएको भए हाम्रो देशको हविगत के हुन्थ्यो त्यो सोच्न पनि सक्किन्न , त्यसकारण वैदेशीक सहायता र ऋणका बारे केवल नकरात्मक धारणा र टिप्पणी गर्नु उचित हुदैन ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशीष लाठ , पटेर्वासुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो , पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन् , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबाबु बैठा , सञ्चारकर्मी रितेश त्रिपाठी र माधुरी महत्तो , सामाजिक अभियन्ता प्रकाश थारु , दलित अधिकारकर्मी नीला राम , नेतृ मोनिका सिंह लगायतले पनि आआफना धारणा राखेका थिए ।
‘सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडरालिज्म’का अध्यक्ष एंव पूर्वराजदूत विजयकान्त् कर्णले कार्यक्रममा आएका सुझाव र विचारहरु नेपाल सरकारको नीति निर्माण तहमा बसेकाहरुसंग साझा गर्ने बताए ।

