Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जका उद्योगी–व्यवसायी भन्छन् : उद्योगमन्त्रीमा रिजाललाई पाउनु ‘माइलस्टोन’

वीरगन्ज, १७ चैत : पर्साका सांसद रमेश रिजाल , संघीय सरकारको उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री बनेपछि वीरगन्ज क्षेत्रका उद्योगी व्यवसायी बनेका छन् । शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा पर्सा ४ का सांसद रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय समेत रहेका रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेकोमा वीरगन्जका उद्योगी–व्यवसायी खुशी छन् । वीरगन्जका उद्योग–व्यवसाय बुझेका व्यक्ति उद्योगमन्त्री हुनु आशा र गर्वको पनि कुरा भएको यहाँका उद्योगी व्यपारीहरुको भनाइ छ ।

उद्योग–व्यवसाय नबुझेकाहरु उद्योगमन्त्री हुँदा वीरगन्जको मात्र नभइ देशभरको उद्योग–व्यवसायको समस्या समाधान हुन नसकेको उनीहरुको तर्क छ । यो क्षेत्रले वर्षौदेखि उठाउँदै आएका माग पुरा गर्न नवनियुक्त उद्योगमन्त्रीले पहल गर्ने अपेक्षा उनीहरुले गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम बारा–पर्साका उद्योगपतिसँगै निजी क्षेत्रले नवनियुक्त उद्योगमन्त्रीबाट नयाँ नीतिनियम, कानुन सहकार्यको अपेक्षा गरेको बताउँछन् ।

‘उद्योग–व्यवसाय प्रतिकूल कानुन संसोधन, श्रम समस्या समाधान, उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, सिर्सिया नदीको प्रदूषण नियन्त्रण र सरकार–निजी क्षेत्र सहकार्यमा उहाँबाट महत्वपूर्ण पहल हुने अपेक्षा गरेका छौं’, उनले भने, ‘उहाँसँगको सहकार्यमा बारा–पर्सा औद्योगिक क्षेत्रलाई पूर्ण औद्योगिक क्षेत्र घोषणा गराउन र उपयुक्त ठाउँ हेरेर नयाँ औद्योगिक क्षेत्र स्थापाना गर्ने हाम्रो सोच छ ।’

रमेश रिजाल उद्योग मन्त्री बन्नुलाई आफूहरुले ‘माइलस्टोन’को रुपमा हेरेको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समितिका अध्यक्ष अशोक टेमानी बताउँछन् ।

‘उद्योग वाणिज्य क्षेत्रका समस्या प्राविधिक प्रकृतिको हुन्छ, जसलाई उद्योग र वाणिज्य क्षेत्रकै ‘स्टेक होल्डर’ले राम्रोसँग बुझ्छ’, उनी भन्छन्, ‘निजी क्षेत्रको उद्योग–व्यवसाय मात्र हैन, को उद्योगी–व्यवसायी कस्तो हो, ठिक, बेठिक के हो सबै बुझेका यहीका नेता उद्योगमन्त्री बन्नुलाई हामीले माइल स्टोनको रुपमा हेरेका छौं ।’

टेमानीका अनुसार, उद्योगी–व्यवसायीको अपेक्षा धेरै छ । ‘२० वर्षदेखि थपिंदै गएका अपेक्षाहरु छन्’, उनले भने, ‘देश अतिकम विकसितबाट विकासोन्मुखतर्फ जाँदैछ । त्यसपछि अनुदान आउन बन्द भएर उद्योग–व्यापारमा भर पर्नुपर्ने हुन्छ । निजी क्षेत्रको समस्या नसल्टाए उद्योग–व्यापार नै धराशयी हुनसक्छ । यसमा उहाँले केही गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौं ।’

उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समितिका पूर्वअध्यक्ष गणेश लाठले पनि बारा–पर्सा औद्योगिक क्षेत्रलाई ‘औद्योगिक क्षेत्र’ घोषणा गर्नमा नयाँ मन्त्रीले भूमिका निर्वाह गर्ने विश्वास गरे । सिमराको विशेष आर्थिक क्षेत्र (सेज) लाई संरक्षित औद्योगिक क्षेत्र घोषित गरिनुपर्छ भन्ने आफूहरुको माग रहेको उनले बताए ।

‘सहज रुपमा उद्योग खोल्न सकिने वातावरण बनाउनुपर्छ । ठोरी र पिलुवाको बाटोमा जग्गा अधिग्रहण गरेरै भएपनि नयाँ औद्योगिक क्षेत्र स्थापना हुनपर्छ’, लाठले भने, ‘अब विद्युत आपूर्ति समस्या समाधान हुन्छ भन्ने अपेक्षा छ । देशका विभिन्न ठाउँमा ‘संरक्षित औद्योगिक क्षेत्र’ घोषणा गर्ने पहल पनि होस्, जहाँ गएपछि ५० वर्षसम्म उद्योग चलाउन सकियोस् ।’ सुरेश बिडारी /अनलाइनखबर

Related posts

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाले घट्यो

MadhesKhabar

वीरगन्जको ड्राइपाेर्टमा डेढ वर्षदेखि थन्कियाे १८ हजार बाेत्तल विदेशी मदिरा

MadhesKhabar

सरकार विरुद्ध वीरगन्जका उद्योगी व्यपारी सडक आन्दोलनामा

MadhesKhabar

Leave a Comment